काठमाडौं । वैदेशिक रोजगार विभागले इराकमा आधिकारिक भिसा प्राप्त गरेका नेपाली श्रमिकलाई श्रम स्वीकृति लिनका लागि आव्हान गरेको छ । मंगलबार एक सूचना जारी गर्दै विभागले आवश्यक कागजातसहित श्रम स्वीकृतिका लागि विभागमा निवेदन दिन आग्रह गरेको हो ।
गत ११ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले इराकमा आधिकारिक भिसा प्राप्त गरेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद्ले गरेको निर्णय र इराकमा रहेका नेपाली श्रमिकले प्राप्त गरेको भिसाको प्रकार फरक परेपछि श्रम स्वीकृति प्रदान गर्ने प्रक्रिया लम्बिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अध्यक्ष विनोद श्रेष्ठले बताए।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले इराकमा आधिकारिक भिसा र रेसिडेन्स भिसा प्राप्त गरेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय गरेको थियो । तर इराकमा रहेका नेपाली श्रमिकले विभिन्न तीन प्रकारका भिसा पाउने गरेको उनले बताए ।
श्रेष्ठका अनुसार इराकमा रहेका नेपाली श्रमिकले मल्टिपल भिसा, स्टिकर भिसा र रेसिडेन्स भिसा प्राप्त गर्ने गरेका छन् । इराकले काम र क्षेत्रका आधारमा भिसा प्रदान गर्ने गरेको उनले जानकारी दिए । इराकमा रहेका विभिन्न मुलुकका दूतावास, नियोग तथा क्याम्पहरूमा काम गर्ने नेपाली श्रमिकलाई इराक सरकारले मल्टिपल भिसा दिएको छ । इराकको विशेषगरी बगदाद क्षेत्रका कम्पनीहरूमा काम गर्ने नेपाली श्रमिकलाई स्टिकर भिसा दिइएको छ । यस्तै, इराकको कुर्दिस्तान क्षेत्रमा रहेका नेपाली श्रमिकलाई रेसिडेन्स कार्ड (अकामा) प्रदान गरिएको उनले बताए ।
मन्त्रिपरिषद्को निर्णयले सबै प्रकारका भिसा प्राप्त गरेका नेपाली श्रमिकलाई नसमेटेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्णय पुनरावलोकन गर्न अनुरोध गरिएको श्रेष्ठले बताए । छलफलपछि मन्त्रालयको सचिवस्तरीय निर्णयमार्फत सबै खालका भिसा प्राप्त गरेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय गरिएको उनले जानकारी दिए । मन्त्रालयको उक्त निर्णयपछि वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि आव्हान गरेको हो ।
किन रोकिएको थियो इराकको श्रम स्वीकृति ?
सन् २००४ मा इराकमा १२ जना नेपालीको हत्या भएपछि नेपाल सरकारले इराकलाई कालोसूचीमा राखेको थियो । इराकलाई उच्च जोखिमयुक्त मुलुक भन्दै सरकारले नेपाली श्रमिकलाई रोजगारीका लागि इराक जान प्रतिबन्ध लगाउँदै आएको छ ।
सरकारले इराकको श्रम स्वीकृति बन्द गरे पनि विभिन्न माध्यमबाट नेपाली श्रमिकहरू रोजगारीका लागि इराक पुगेका छन् । इराकमा रहेका रोजगारदातासँगको प्रत्यक्ष सम्पर्क र दलालमार्फत नेपालीहरू इराक पुग्ने गरेको एनआरएनए इराकका अध्यक्ष श्रेष्ठले बताए ।
हाल इराकमा २० हजारभन्दा बढी नेपाली श्रमिक रहेको संघ इराकका अध्यक्ष श्रेष्ठले बताए । जसमध्ये करिब ७५ प्रतिशत नेपाली श्रमिक इराकको कुर्दिस्तान राज्यमा रहेका छन् । इराकमा रहेका कुल नेपाली श्रमिकमध्ये करिब २५ प्रतिशत गैरकानुनी रूपमा बसोबास गरिरहेको उनले बताए । सरकारले श्रम स्वीकृति बन्द गरेपछि नेपाली श्रमिकहरू भारत, दुबई, युएई, थाइल्यान्ड हुँदै इराक पुग्ने गरेका छन् ।
इराकमा घरेलु कामदारदेखि व्यवस्थापकीय तहसम्मका विभिन्न काममा नेपाली श्रमिक संलग्न छन् । नेपाली श्रमिकहरू एयरपोर्ट, होटेल, रेस्टुरेन्ट, अस्पताल, उद्योगलगायतका क्षेत्रमा कार्यरत छन् । ‘नेपालीहरूले नै लगानी गरी आधा दर्जनभन्दा बढी रेस्टुरेन्ट र ट्राभललगायतका कम्पनी सञ्चालन भएका छन्,’ अध्यक्ष श्रेष्ठले बताए ।
इराकमा नेपाली महिला घरेलु कामदारले कम्तिमा ३०० अमेरिकी डलर पारिश्रमिक पाउने गरेका छन् । भिजिट भिसामा गएर घरेलु काम गर्ने पुरुष श्रमिकको पारिश्रमिक भने ४५० देखि ५०० अमेरिकी डलरबाट सुरु हुने श्रेष्ठले बताए । यस्तै, बगदाद क्षेत्रमा काम गर्ने नेपाली श्रमिकको पारिश्रमिक १ हजार २०० अमेरिकी डलरबाट सुरु हुन्छ। कुर्दिस्तान क्षेत्रमा काम गर्ने नेपाली श्रमिकले ३ हजार अमेरिकी डलरसम्म आम्दानी गर्ने गरेको उनले बताए ।
इराकका विभिन्न राज्यहरूमध्ये कुर्दिस्तान सबैभन्दा सुरक्षित र विकसित राज्य मानिन्छ । इराकको कुर्दिस्तान राज्य अति सुरक्षित तथा लगानीमैत्री वातावरण भएको क्षेत्र भएकाले २७ राष्ट्रका साधारण तथा मानार्थ कन्सुलर कार्यालयहरू स्थापना भएका छन् । साथै, विश्वका ठूला बहुराष्ट्रिय कम्पनीहरू समेत त्यहाँ सञ्चालनमा छन् । कुर्दिस्तानमा २४ घण्टा सुपरमार्केट, रेस्टुरेन्ट तथा सवारीसाधन सञ्चालनमा रहने अध्यक्ष श्रेष्ठले बताए। हाल पनि सयौँको संख्यामा ठूला आयोजना, विश्वविद्यालय, अन्तर्राष्ट्रियस्तरका पाँचतारे विलासी होटल, सपिङ मल, स्पोट्र्स कम्प्लेक्स, पार्क, अस्पताल तथा आवासीय भवनहरू निर्माणाधीन अवस्थामा छन् ।
पछिल्लो समय नेपाली श्रमिकका लागि इराक आकर्षक गन्तव्य बनेको भए पनि सरकारले औपचारिक रूपमा श्रम स्वीकृति भने खुलाएको छैन । इराकमा आधिकारिक भिसा प्राप्त गरेका नेपाली श्रमिक नेपाल विदामा आउँदा समेत सेटिङमार्फत इराक फर्कनुपर्ने बाध्यता रहेको अध्यक्ष श्रेष्ठले बताए । सेटिङमार्फत इराक फर्कनुपर्दा लाखौँ रुपैयाँ दलाललाई बुझाउनुपरेको उनले उल्लेख गरे ।
त्यसैले आधिकारिक भिसा प्राप्त गरी नेपाल विदामा आएका नेपाली श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्न इराकमा रहेका नेपाली श्रमिकहरूले लामो समयदेखि सरकारसँग माग गर्दै आएका थिए । अन्ततः गत पुसमा सरकारले श्रमिकलाई सहज रूपमा इराक फर्कन श्रम स्वीकृति दिने निर्णय गरेको हो ।
भारत, पाकिस्तान, भुटान, श्रीलंका, चीनलगायत मुलुकहरूले पनि इराकलाई श्रम गन्तव्यका रूपमा प्रतिबन्ध लगाएका छन्। तर इराकमा काम गरी रेसिडेन्सी कार्ड प्राप्त गरेका आफ्ना नागरिकलाई ती मुलुकहरूले सहज रूपमा फर्कने सुविधा दिँदै आएको संघ अध्यक्ष श्रेष्ठले बताए ।
श्रम स्वीकृतिका लागि आवश्यक कागजात
इराकबाट नेपाल विदामा आएका नेपाली श्रमिकले पुन : इराक जान श्रम स्वीकृति लिनुपर्ने भएमा कम्तिमा तीन महिना म्याद भएको राहदानी, आधिकारिक भिसा, वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमार्फत म्यादी जीवन बीमा, सामाजिक सुरक्षा कोष तथा कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाणपत्र वैदेशिक रोजगार विभागमा पेश गर्नुपर्नेछ ।
यसैगरी रोजगारदातासँग गरिएको करार सम्झौता, इराकको अध्यागमनले पासपोर्टमा लगाएको आगमन तथा प्रस्थान छाप, अभिमुखीकरण तालिम तथा मेडिकल परीक्षण गरेको प्रमाण, सक्कल पासपोर्टको प्रतिलिपि, भिसा तथा करार सम्झौतासहित विभागमा सनाखतका लागि उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।
मुना कुँवर