शीर्षकहरू

सामाजिक सुरक्षा कोषमा १२ महिना योगदान गरेपछि विशेष सापटी पाइने

सामाजिक सुरक्षा कोषमा १२ महिना योगदान गरेपछि विशेष सापटी पाइने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान सुरु गरेको एक वर्षमै योगदानकर्ताले विशेष सापटी पाउने व्यवस्था लागू गरिएको छ । कोषले हालसम्मको ३६ महिनाको प्रावधान हटाउँदै नियमित रूपमा १२ महिना योगदान गर्ने योगदानकर्तालाई विशेष सापटी उपलब्ध गराउने निर्णय गरेको हो ।

नयाँ व्यवस्थाअनुसार १२ महिना नियमित योगदान गर्ने योगदानकर्ताले न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम आफ्नो अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन सक्नेछन् । उक्त सापटीको ब्याजदर ५.२ प्रतिशत तोकिएको छ । यसअघि विशेष सापटीका लागि कम्तीमा तीन वर्ष (३६ महिना) योगदान अनिवार्य थियो ।

सामाजिक सुरक्षा कोषले २०७९ भदौदेखि योगदानकर्ताका लागि चार प्रकारका कर्जा सुविधा सञ्चालन गर्दै आएको छ । तीमध्ये विशेष सापटी सबैभन्दा बढी प्रयोगमा आएको कर्जा हो । अन्य कर्जाको तुलनामा प्रक्रिया सरल भएकाले योगदानकर्ताको आकर्षण विशेष सापटीतर्फ बढेको कोषको तथ्यांकले देखाउँछ । यसअघि विशेष सापटीमा ६.६ प्रतिशत ब्याज लाग्ने व्यवस्था थियो ।

५८ वर्षभन्दा कम उमेरका योगदानकर्ताले विशेष सापटीका लागि आवेदन दिन सक्नेछन् । कर्जाको अवधि ऋणीले आफैं तोक्न सक्ने व्यवस्था छ । कर्जाको ब्याज वार्षिक रूपमा भुक्तानी गर्नुपर्ने भए पनि इच्छाअनुसार मासिक वा त्रैमासिक रूपमा पनि भुक्तानी गर्न सकिनेछ ।

यसैगरी, योगदानकर्ताले घर निर्माण, मर्मत, तला थप, संयुक्त आवासमा युनिट खरिदलगायत घरसम्बन्धी प्रयोजनका लागि घर कर्जा लिन सक्ने व्यवस्था छ । घर सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकम, योगदानकर्ताको १५ वर्षको तलब वा ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलबमध्ये जुन कम हुन्छ, सोही आधारमा अधिकतम ७५ लाख रुपैयाँसम्म कर्जा प्रदान गरिनेछ ।

घर निर्माणका लागि कर्जा दिँदा कम्तीमा दुई र अधिकतम चार किस्तामा रकम उपलब्ध गराइनेछ भने घर खरिदका लागि स्वीकृत रकम एकमुष्ट उपलब्ध गराइनेछ । घर सापटी पूर्ण रूपमा चुक्ता गरेपछि पुनः घर सापटी लिन सकिने व्यवस्था पनि गरिएको छ । घर कर्जामा ७.५ प्रतिशत ब्याजदर लागू हुनेछ भने कर्जाको अधिकतम अवधि २० वर्ष तोकिएको छ । यसका लागि घर बनेको जग्गा धितो राख्नुपर्नेछ ।

त्यस्तै, योगदानकर्ता वा उनका श्रीमती तथा छोराछोरीका लागि शैक्षिक कर्जा सुविधा पनि उपलब्ध छ । शैक्षिक कर्जाको सीमा ३५ लाख रुपैयाँ तोकिएको छ । उक्त कर्जामा ७.५ प्रतिशत ब्याज लाग्नेछ र अधिकतम १५ वर्षसम्मको अवधि रहनेछ । शैक्षिक कर्जा एकमुष्ट वा चार किस्तामा उपलब्ध गराइनेछ । यसका लागि कम्तीमा चार मिटर पहुँच बाटो भएको घर वा जग्गा धितो राख्नुपर्नेछ ।

हालसम्म सामाजिक सुरक्षा कोषमा २२ हजार ७३९ रोजगारदाता र २७ लाख ४० हजार ४४४ योगदानकर्ता आबद्ध भएका छन् । तीमध्ये औपचारिक क्षेत्रका ६ लाख ६६ हजार ९८३, वैदेशिक रोजगारीमा रहेका २० लाख ७१ हजार ९१२, अनौपचारिक क्षेत्रका ८११ तथा ७३८ जना स्वरोजगार व्यक्ति रहेका छन् ।

कोषमा हालसम्म ९९ अर्ब ५६ करोड रुपैयाँ योगदान रकम जम्मा भएको छ भने १८ अर्ब ३३ करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।