शीर्षकहरू

नेपालमा ३२ प्रतिशत बालबालिका आर्थिक रूपमा सक्रिय, कम उमेर समूहमा पनि बालश्रमको जोखिम

नेपालमा ३२ प्रतिशत बालबालिका आर्थिक रूपमा सक्रिय, कम उमेर समूहमा पनि बालश्रमको जोखिम

काठमाडाैं । नेपालमा १० देखि १७ वर्ष उमेर समूहका बालबालिका आर्थिक रूपमा सक्रिय भएको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक आधारित नेपालमा बालबालिकाको अवस्था विषयक प्रतिवेदनले यो उमेर समूहका करिब एक–तिहाइ (३२.१ प्रतिशत) बालबालिका आर्थिक गतिविधिमा संलग्न रहेको देखिन्छ।

प्रदेशगत रूपमा कर्णाली प्रदेशमा आर्थिक रूपमा सक्रिय बालबालिकाको अनुपात सबैभन्दा बढी ३९.५ प्रतिशत रहेको छ भने मधेश प्रदेशमा सबैभन्दा कम २६.९ प्रतिशत रहेको छ। सुदुरपश्चिममा ३८.९, कोशीमा ३८.४, लुम्बिनीमा ३२.१ र गण्डकी प्रदेशमा २७.६ प्रतिशत बालबालिका आर्थिक गतिविधिमा सक्रिय छन्।

उमेर समूहको आधारमा कोशी प्रदेशमा १० देखि १३ उमेर समूहका २८ प्रतिशत, १४ देखि १५ वर्षका ३३ प्रतिशत र १६ देखि १७ वर्षका ३९ प्रतिशत बालबालिका आर्थिक गतिविधिमा सक्रिय छन्। मधेश प्रदेशमा १० देखि १३ वर्षका २४ प्रतिशत, १४ देखि १५ वर्षका २८ प्रतिशत र १६ देखि १७ वर्षका ४७ प्रतिशत बालबालिका सक्रिय छन्।

बागमती प्रदेशमा १० देखि १३ वर्षका २३.८ प्रतिशत, १४ देखि १५ वर्षका २८ प्रतिशत र १६ देखि १७ वर्षका ३४.१ प्रतिशत बालबालिका काममा संलग्न छन्। गण्डकी प्रदेशमा १० देखि १३ वर्षका २३ प्रतिशत, १४ देखि १५ वर्षका १८ प्रतिशत र १६ देखि १७ वर्षका ३५ प्रतिशत बालबालिका काममा सक्रिय छन्।

लुम्बिनी प्रदेशमा १० देखि १३ वर्षका २७ प्रतिशत, १४ देखि १५ वर्षका ३३ प्रतिशत र १६ देखि १७ वर्षका ४० प्रतिशत बालबालिका सक्रिय छन्। कर्णाली प्रदेशमा १० देखि १३ वर्षका ३५ प्रतिशत, १४ देखि १५ वर्षका ४१ प्रतिशत र १६ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिका सक्रिय छन्।

सुदुरपश्चिम प्रदेशमा १० देखि १३ वर्षका ३४ प्रतिशत, १४ देखि १५ वर्षका ४१ प्रतिशत र १६ देखि १७ वर्षका ४७ प्रतिशत बालबालिका आर्थिक गतिविधिमा संलग्न छन्।

आर्थिक गतिविधिमा सक्रिय बालबालिकामध्ये १३.७ प्रतिशत बालबालिका अरुको रोजगारमा संलग्न छन्। ३२ प्रतिशत बालबालिका आफैंको काम (स्वरोजगार) गर्दैछन् भने ५४.२ प्रतिशत बालबालिकाले परिवारले गरेको पेशा वा व्यवसायलाई सहयोग गरिरहेका छन्।

१० देखि १२ वर्ष उमेर समूहका ११.३ प्रतिशत बालबालिका अरुको काममा संलग्न छन्। १३ देखि १५ वर्ष उमेर समूहमा १२.४ प्रतिशत र १६ देखि १७ वर्ष उमेर समूहमा १८ प्रतिशत बालबालिका अरुको काममा संलग्न रहेको प्रतिवेदनले देखाएको छ।

१४ वर्षभन्दा कम उमेरका बालबालिकालाई रोजगारमा लगाउन कानुनले निषेध गरेको छ। तथापि, तथ्यांकले देखाएको छ कि कम उमेरका बालबालिका अझै पनि रोजगारमा संलग्न छन्। १४ वर्षभन्दा कम उमेरको कुनै पनि रोजगारीमा संलग्न बालबालिकालाई बालश्रममा संलग्न मानिन्छ।

“आर्थिक रूपमा सक्रिय बालबालिका” भन्नाले १०–१७ वर्ष उमेर समूहका ती बालबालिकालाई जनाउँछ, जो तलब, नाफा वा पारिवारिक लाभका लागि आर्थिक गतिविधिमा संलग्न छन्। यसमा औपचारिक र अनौपचारिक दुवै क्षेत्र समेटिन्छ र कृषि क्षेत्रदेखि सेवा क्षेत्रसम्मका गतिविधिहरू पर्दछन्।बालबालिकाको आर्थिक गतिविधिमा संलग्नताले बालश्रमको जोखिम बढाउने, शिक्षामा बाधा पुर्‍याउने तथा शारीरिक, मानसिक र मनोवैज्ञानिक विकासमा नकारात्मक असर पार्ने सम्भावना रहने प्रतिवेदनमा उल्लेख छ।

उमेर समूह बढ्दै जाँदा आर्थिक रूपमा सक्रिय बालबालिकाको अनुपात पनि बढ्दो देखिन्छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल ९८ लाख ६९ हजार ५८३ जना बालबालिका रहेका छन्, जुन कुल जनसंख्याको ३४ प्रतिशत हो। सन् २०५८ मा बालबालिकाको अनुपात ४६ प्रतिशत थियो र त्यसयता लगातार घट्दै आएको छ। सन् २१०८ सम्ममा बालबालिकाको अनुपात २२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ।

बालबालिकाको वितरणअनुसार २९ प्रतिशत घरपरिवारमा बालबालिका छैनन्। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार ७१ प्रतिशत घरपरिवारमा कम्तीमा एकजना बालबालिका रहेका छन्। प्रदेशगत रूपमा कर्णालीमा यस्तो घरपरिवारको अनुपात सबैभन्दा बढी ८१ प्रतिशत र बागमतीमा सबैभन्दा कम ६२ प्रतिशत छ। सुदुरपश्चिममा ७८.८ प्रतिशत, गण्डकीमा ६२.२ प्रतिशत, कोशीमा ७०.६ प्रतिशत, लुम्बिनीमा ७४.८ प्रतिशत र मधेश प्रदेशमा ८०.३ प्रतिशत घरपरिवारमा बालबालिका रहेका छन्।

मधेश प्रदेशका घरपरिवारमा औसत बालबालिकाको संख्या २.१ जना छ भने राष्ट्रिय औसत १.५ र बागमती प्रदेशमा १.१ मात्र छ।

कुल बालबालिकामध्ये १ वर्षसम्मको उमेर समूहका ८.७ प्रतिशत, २ देखि ४ वर्षसम्मका १६ प्रतिशत, ५ देखि ९ वर्षसम्मका २८ प्रतिशत, १० देखि ११ वर्षसम्मका ११.४ प्रतिशत, १२ देखि १३ वर्षसम्मका १२.१ प्रतिशत, १४ देखि १५ वर्षसम्मका १२.२ प्रतिशत र १६ देखि १७ वर्षसम्मका ११.६ प्रतिशत रहेका छन्।

बालबालिकामध्ये ७७.९ प्रतिशत आमाबाबुसँग बसोबास गरिरहेका छन्। आमासँग मात्र बस्ने बालबालिकाको अनुपात १७ प्रतिशत र बाबुसँग मात्र बस्ने अनुपात १ प्रतिशत रहेको छ।

बालबालिकाको आन्तरिक बसाइँसर्ने दर १२ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा बागमतीमा यो दर सबैभन्दा उच्च १३ प्रतिशत र मधेशमा सबैभन्दा कम १० प्रतिशत छ। बसाइँसरेका बालबालिकामध्ये ६६ प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका छन्। ६९ प्रतिशत तल्लो आर्थिक पञ्चायतमा रहेका घरपरिवारमा बसोबास गरिरहेका छन्। शारीरिक रूपमा सक्रिय बालबालिकामा बसाइँ सर्ने प्रवृत्ति प्रायः देखिएको छैन।