शीर्षकहरू

भुजुङ हाइड्रोपावरको आईपीओ माघ १२ देखि खुल्ने, सर्वसाधारणलाई ८ लाख ३० हजार कित्ता

भुजुङ हाइड्रोपावरको आईपीओ माघ १२ देखि खुल्ने, सर्वसाधारणलाई ८ लाख ३० हजार कित्ता

काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि माघ १२ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत आम लगानीकर्तालाई कुल ८ लाख ३० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो।

कम्पनीले कुल निष्कासित सेयरमध्ये सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता र कम्पनीका कर्मचारीहरूका लागि २० हजार कित्ता सेयर सुरक्षित गरेको छ। बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था रहेको छ।

यो आईपीओ छिटोमा माघ १५ गते र सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा माघ २६ गतेसम्म बन्द हुने कम्पनीले जनाएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले पाएको छ।

भुजुङ हाइड्रोपावरले कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ११ गते अनुमति पाएको थियो। सोही अनुमतिअनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पुस ३ गतेदेखि आईपीओ जारी गरिएको थियो।