शीर्षकहरू

६ महिनामा सवा ३९ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कृषि र सूचना प्रविधि क्षेत्रको अग्रस्थान

बिजनेस भिसा लिने लगानीकर्ता घटे, १० अर्ब ३३ करोड लाभांश तथा ३ अर्ब ९० करोड रोयल्टी फिर्ता,

६ महिनामा सवा ३९ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कृषि र सूचना प्रविधि क्षेत्रको अग्रस्थान

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा ३९ अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ उद्योगमा लगानीको योजना स्वीकृत भएको हो।

उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार गत साउनदेखि पुस मसान्तसम्ममा ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार बराबरको लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार यस अवधिमा स्वचालित मार्ग (अटोमेटिक रुट) रुटबाट ३१४ उद्योगका लागि २ अर्ब ८० करोड ९९ लाख तथा अप्रुभल रुटबाट १६१ उद्योगमा ३६ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको ६ महिनामा ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको थियो । जसमा प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट २०० उद्योगका लागि २३ अर्ब ३९ करोड र स्वचालित प्रणालीबाट १५४ उद्योगका लागि २ अर्ब ३८ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । गत आवको ६ महिनामा ३४५ साना, ५ मध्यम र ४ ठूला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता आएको थियो । 

चालु आवको ६ महिनाको अवधिमा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि ३ अर्ब ९८ करोड ६६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै ३१ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ ।

पुसमा मात्रै स्वचालित मार्ग (अटोमेटिक रुट) बाट २८ उद्योगमा २१ करोड ९५ लाख रुपैयाँ र अप्रुभल रुटबाट ८ उद्योगमा ३८ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । पुस महिनामा कुल ३६ उद्योगका लागि ५९ करोड ९५ लाख रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता आएको छ । 

साना उद्योगमा उच्च आर्कषण 

चालु आर्थिक वर्षको ६ महिनामा सात वटा ठूला, ८ वटा मध्यम र ४६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । विभागकाअनुसार गत पुसमा मात्र ३६ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ । यी उद्योगहरुबाट २० हजार १२२ रोजगारी सृजना हुने आँकलन गरिएको छ । 

गत साउनदेखि पुस महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २५७ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ८८ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ ।

उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा २ अर्ब ३ करोड, पर्यटनमूलक क्षेत्रका १४५ उद्योगमा १० अर्ब ५४ करोड र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

हालसम्म विभागले ७ हजार ७१३ वटा उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिसकेको छ ।

null
 

१० अर्ब ३३ करोड लाभांश, ३ अर्ब ९० करोड रोयल्टी फिर्ता 

नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा १० अर्ब ३३ करोड ४५ लाखरुपैयाँ लाभांश फिर्ता लैजान गरी उद्योग विभागबाट स्वीकृति पाएको छ । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६१ करोड रुपैयाँ लाभांश फिर्ता गर्न स्वीकृत गरिएको थियो । गत पुस महिनामा मात्रै ५ अर्ब ३० करोड लाभांश फिर्ता लैजान स्वीकृति पाएका छन् । 

विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अविधमा ३ अर्ब ९० करोड ३६ लाख रुपैयाँ रोयल्टी फिर्ता लैजान स्वीकृति दिएको हो । रोयल्टीबापत ७ लाख ९३ हजार १८३ अमेरिकी डलर, १५ करोड ९८ लाख भारु बाहिर लैजान स्वीकृत गरिएको छ । चालु आर्थिक वर्षको पुसमा मात्रै रोयल्टीबापत २ अर्ब २७ करोड फिर्ता दिन स्वीकृत दिएको छ । 

बिजनेस भिसा लिने लगानीकर्ता घटे

विभागको सार्वजनिक तथ्यांक अनुसार नेपालमा बिजनेस भिसा लिने विदेशी घटेका छन् ।छन् । ताजा तथ्यांक अनुसार ६ महिनामा १ हजार २२९ लगानीकर्ताले यस्तो भिसाको सिफारिस मागेका छन् । अघिल्लो आवको सोही अवधिमा २ हजार ११७ सय जनाले यस्तो भिसा माग गरेका थिए । पुस महिनामा मात्रै २०३ लगानीकर्ताले बिजनेस भिसा लिएका छन्।

त्यसैगरी, विदेशी लगाीकर्ताका प्रतिनिधि पनि यो अवधिमा घटेका छन् । ६ महिनामा १७९ जनाले बिजनेस भिसा मागेका छन् । अघिल्लो वर्ष यही अवधिमा २०१ जनाले प्रतिनिधिले भिसा लिएका थिए । पुस महिनामा मात्रै २३ जनाले विदेशी लगाीकर्ताका प्रतिनिधिले विजनेस भिसा लिएका छन् । पछिल्लो ६ महिनामा ३६७ जनाले डिपेन्डेन्ट भिसा मागेका छन् । गत आवको यसै अवधिमा ५१३ जनाले डिपेन्डेन्ट भिसा लिएका थिए । पुस महिनामा मात्रै ६८ जनाले डिपेन्डेन्ट भिसा लिएका छन् ।

null