काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जा (पुनरसंरचना र पुनरतालिकीकरण बाहेक) भुक्तानी भइसके पनि कम्तीमा ३ महिनासम्म सोही वर्गमा राख्नुपर्ने नयाँ निर्देशिका जारी गरेको छ।
अब बैंकहरूले कर्जा नियमित भएको ३ महिनापछि मात्र स्तरोन्नती गर्न सक्नेछन् र सो अवधिसम्म कर्जा नोक्सानी व्यवस्थापन सोही वर्ग अनुसार कायम गर्नुपर्नेछ। संशोधित निर्देशनले बैंकिङ क्षेत्रको वित्तीय अनुशासन कायम राख्ने र ऋणीको पुनर्भुक्तानीलाई समयमै व्यवस्थापन गर्ने उद्देश्य राखेको राष्ट्र बैंकले जनाएको छ।
यसअघि भुक्तानीपछि ६ महिनासम्म निगरानी राखेर मात्र कर्जा असल वर्गमा स्थानान्तरण गर्न सकिने व्यवस्था थियो। राष्ट्र बैंकका अधिकारीहरुका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सिफारिस र बैंकिङ पुँजीको दबाबलाई ध्यानमा राखेर संशोधन गरिएको हो।
संशोधित निर्देशिकाअनुसार, बैंकहरूले कमसल, शंकास्पद वा खराब वर्गमा परेको कर्जा भुक्तानी भएपनि ३ महिनासम्म सोही वर्गमा कायम राख्दै मात्र नोक्सानी व्यवस्थापन गर्नुपर्नेछ।

त्यसैगरी, ऋणीको अनुरोधमा एक पटक वार्षिक किस्ता रकम परिवर्तन गर्न सकिने व्यवस्था पनि निर्देशिकामा समावेश गरिएको छ। यस अन्तर्गत ऋणीको आम्दानी विश्लेषण गरी मात्र वार्षिक किस्ता परिवर्तन हुनेछ । यसले बैंकहरुलाई थप कर्जा नोक्सानीबाट बचाउनेछ ।
राष्ट्र बैंकले एकीकृत निर्देशिका २०८२ शुक्रबार जारी गर्दै पछिल्लो एक वर्षमा भएका सबै संशोधनहरू समावेश गरेको छ।
आर्थिकन्यूज