काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामाथि आक्रमण, लुटपाट र बैंकरमाथि दुर्व्यवहारका घटनाहरू बढ्दै गएपछि केन्द्रीय बैंक, नेपाल प्रहरी र बैंकर्सहरू एकै मोर्चामा उभिएका छन्। बैंकिङ क्षेत्रको सुरक्षा चुनौती गम्भीर बन्दै गएपछि नेपाल राष्ट्र बैंकको पहलमा उच्चस्तरीय छलफल सुरु गरिएको हो।
शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएर बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षाबारे विस्तृत छलफल गरेका हुन। छलफलमा नेपाल बैंकर्स संघका पदाधिकारीहरू पनि सहभागी थिए।
राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएका सुरक्षा चुनौती, बैंक विरोधी गतिविधि र कर्मचारीमाथि भइरहेको आक्रमणलाई केन्द्रमा राखेर छलफल गरिएको जनाएको छ। उक्त छलफलमा डेपुटी गभर्नरलगायत राष्ट्र बैंकका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
लुटपाटदेखि आगजनी प्रयाससम्म
बैंकिङ क्षेत्र असुरक्षित बन्दै गएको संकेत पछिल्ला केही गम्भीर घटनाले स्पष्ट पारेका छन्। पुस २९ गते राति सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबिआई बैंकको शाखामा लुटपाट भएको थियो। सिन्धुली बजारबाट करिब ३५ किलोमिटर टाढा रहेको उक्त शाखामा लुटेराको समूहले कर्मचारीलाई नियन्त्रणमा लिएर भल्टबाट ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटेको थियो।
यसअघि सप्तरीमा कर्जा सम्बन्धी विषय बुझ्न गएका ज्योति विकास बैंकका कर्मचारी कुटपिटमा परेका थिए भने सुनसरीमा एनआइसी एसिया बैंकको कार्यालयमै पेट्रोल छर्किएर आगो लगाउने प्रयाससमेत भएको थियो। यस्ता घटनाले बैंक र बैंकर दुवै असुरक्षित बन्दै गएको स्पष्ट संकेत गरेको सरोकारवालाहरू बताउँछन्।
‘कर्जा तिर्दैनौँ’ भन्ने अराजक प्रवृत्ति
पछिल्लो समय बैंक विरोधी गतिविधि केवल लुटपाटमा सीमित छैनन्। बैंकरलाई कुटपिट गर्ने, मोसो दल्ने, जुत्ताको माला लगाउने, धम्क्याउने र ‘कर्जा तिर्दैनौँ’ भन्ने अराजक प्रवृत्ति बढ्दै गएको बैंकर्सहरूको गुनासो छ। यही कारण बैंकिङ क्षेत्रलाई अब परम्परागत जोखिम (कर्जा, बजार, सञ्चालन, तरलता) मात्र नभई ‘दुर्व्यवहार जोखिम’ समेत सामना गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।
बैंकर्सका अनुसार सरकारले समयमै बैंकिङ क्षेत्र विरोधी गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्न नसक्दा यस्ता गतिविधिले प्रश्रय पाएको छ। कतिपय घटनामा राजनीतिक संरक्षणकै कारण दोषी उम्किने गरेको आरोपसमेत बैंकर्सहरूले लगाउँदै आएका छन्।

वित्तीय प्रणाली नै जोखिममा पर्ने चेतावनी
बैंकर्सहरूले कर्जा नतिर्नेभन्दा बैंकर कुट्ने र धम्काउने प्रवृत्ति दीर्घकालमा पूरे वित्तीय चक्र नै बिगार्ने खतरा रहेको चेतावनी दिएका छन्। यदि यस्तो अवस्था नियन्त्रणमा नल्याइए बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर भई आर्थिक स्थायित्वमै गम्भीर असर पर्ने उनीहरूको भनाइ छ।
यही दबाब र चिन्ताका बीच नेपाल राष्ट्र बैंकको अगुवाइमा प्रहरी र बैंकर्सबीच सुरक्षा केन्द्रित छलफल सुरु गरिएको हो। बैंक विरोधी गतिविधि निरुत्साहन गर्ने र बैंकर तथा बैंक कार्यालयको सुरक्षा सुनिश्चित गर्ने विषयमा सरोकारवालाहरू गम्भीर छलफलमा जुटेको राष्ट्र बैंकले जनाएको छ।
सरकारमाथि दबाब
पछिल्ला दिनमा कमर्सियल बैंक, विकास बैंक, फाइनान्स कम्पनी र माइक्रोफाइनान्ससमेतका छाता संगठन तथा कर्मचारी संगठनहरू एकजुट भएर बैंकर आक्रमणविरुद्ध आवाज उठाउन थालेका छन्। उनीहरूले बैंक तथा बैंकरलाई प्रभावकारी सुरक्षा उपलब्ध गराउन सरकारसँग औपचारिक आग्रहसमेत गरेका छन्।
यही क्रममा बैंकर्सहरूले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीसँग भेट गरी बैंकिङ क्षेत्र विरोधी गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्न माग गरेका छन्।
बैंकर्स संघका अनुसार विगतमा बैंक र बैंकरमाथि भएका घटनालाई सामान्य रूपमा लिँदा आज ती घटनाहरू दोहोरिन थालेका हुन्। अब यस्ता घटनालाई गम्भीर अपराधका रूपमा लिएर कडाइका साथ नियन्त्रण नगरे आर्थिक प्रणाली थप अस्थिर बन्ने उनीहरूको चेतावनी छ।

आर्थिकन्यूज