काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा होटल तथा पर्यटन क्षेत्रको उपस्थिति थप बलियो बनाउने गरी अर्को पाँचतारे होटल कम्पनी ‘होटल फरेष्ट इन लिमिटेड’ ले प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि माघ ४ गतेदेखि आईपीओ खुला गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त आईपीओ छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहनेछ।
आवेदन धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत दिन सकिनेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।
हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा होटल तथा पर्यटन समूहअन्तर्गत ७ वटा कम्पनी सूचीकृत छन्। तीमध्ये चार वटा पाँचतारे होटल सञ्चालन गर्ने कम्पनी हुन् भने बाँकी रिसोर्ट तथा केबलकार व्यवसायसँग सम्बन्धित छन्। नेप्सेमा हाल सोल्टी होटल, तारागाउँ रेजेन्सी होटल (ह्यात रिजेन्सी), ओरिएन्टल होटल्स (होटल ¥याडिसन) र सिटी होटल, होटल समूहमा पर्छन्।
पर्यटन उद्योगसँग प्रत्यक्ष जोडिएको यो समूह संख्या कम भए पनि लगानीकर्ताको चासो सधैं उच्च रहने क्षेत्रका रूपमा हेरिन्छ। आगामी दिनमा थप होटल कम्पनी सूचीकृत भएमा नेप्सेमा पाँचतारे होटलको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।
३ अर्ब ५७ करोड लागतको पाँचतारे होटल परियोजना
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको लगानीमा सञ्चालित होटल फरेष्ट इन लिमिटेडको निर्माणमा कुल ३ अर्ब ५७ करोड २० लाख रुपैयाँ लागत लागेको छ।
यसमा २ अर्ब १२ करोड रुपैयाँ बैंक ऋण, १ अर्ब २ करोड रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी रहेको छ भने बाँकी रकम आईपीओमार्फत जुटाइने योजना कम्पनीको छ।
होटलमा १ सय ५ वटा कोठा रहेका छन्। साथै यहाँ फुड एन्ड बेभरेज सेवा कन्फरेन्स तथा बैक्वेट हल स्पा लगायतका सुविधा उपलब्ध छन्।
होटल काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा अवस्थित छ, जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलोमिटर दूरीमा पर्दछ। बूढानीलकण्ठ धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य मानिन्छ।
होटलको व्यवस्थापन विश्वप्रसिद्ध अमेरिकन होटल चेन ‘इन्टरकन्टिनेन्टल होटल ग्रुप अन्तर्गतको मिडस्केल अन्तर्राष्ट्रिय ब्राण्ड ‘होलिडे इन’ ले सम्हालेको छ। आईएचजीअन्तर्गत हाल विश्वभर १,२३४ वटा होलिडे इन होटल सञ्चालनमा छन् भने २८७ वटा होटल पाइपलाइनमा रहेका छन्।
सन् १९९८ देखि पर्यटन क्षेत्रमा सक्रिय दीपक खड्काले ट्राभल तथा ट्रेकिङ कम्पनीसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्। उनले ताप्लेजुङ र रसुवामा तीन वटा जलविद्युत आयोजनामा पनि लगानी गरेका छन्।
होटल फरेष्ट इन सन् २०१० मा स्थापना भएको हो। आईपीओ निष्काशनको तयारीस्वरूप सन् २०२३ मा पब्लिक लिमिटेडमा परिणत गरिएको कम्पनी गत वर्ष असार महिनादेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ।

आर्थिकन्यूज