शीर्षकहरू

सोलु हाइड्रोको ८२ लाख कित्ता आईपीओको बिक्री बन्द हुँदै, कस्तो छ कम्पनी ?

सोलु हाइड्रोको ८२ लाख कित्ता आईपीओको बिक्री बन्द हुँदै, कस्तो छ कम्पनी ?

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको ८२ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले पुस २९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ खुला गरेको थियो ।आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । 

८२ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएकाले करिब ८ लाख २० हजार आवेदकले मात्र न्यूनतम १० कित्ता सेयर पाउने अवस्था देखिन्छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ दरका २ करोड कित्ता अर्थात् २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० लाख कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १ करोड कित्ता सेयर बिक्री गरिसकेको छ ।

बाँकी सेयरमध्ये सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीका लागि ३ लाख कित्ता छुट्याएर ८२ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिएको हो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले पाएका छन् ।

कस्तो छ कम्पनी ?

सोलु हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापना भएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित त्रिवेणी कम्प्लेक्समा रहेको छ भने जलविद्युत आयोजना सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११, तिङ्गलामा अवस्थित छ ।

कम्पनी २०६७ जेठ २६ गते ‘एसेल–क्लिन सोलु हाइड्रोपावर प्राइभेट लिमिटेड’ नामबाट दर्ता भएको थियो । २०७२ चैत २ गते नाम परिवर्तन गरी सोलु हाइड्रोपावर प्राइभेट लिमिटेड बनाइएको कम्पनी २०७९ असोज २९ गते पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो ।

कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ भने हालको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ छ । आईपीओपछि संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत, आयोजना प्रभावित स्थानीयको १० प्रतिशत र सर्वसाधारणको १० प्रतिशत रहनेछ । कम्पनीले आर्थिक वर्ष २०८४/८५ सम्म पुँजी वृद्धि गर्ने योजना नरहेको जनाएको छ र सो अवधिसम्म चुक्ता पुँजी १० अर्ब रुपैयाँमै स्थिर रहनेछ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ९५ करोड १३ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षमा नाफा १ अर्ब २३ करोड रुपैयाँ पुग्ने अनुमान छ । जगेडा कोष चालु आवमा २ अर्ब ८३ करोड रुपैयाँ र २०८४/८५ सम्म ५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

गत आर्थिक वर्षको असारसम्म कम्पनीले २७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो भने चालु आवमा प्रतिसेयर आम्दानी ९.३० रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

कम्पनीले आईपीओबाट संकलित रकम लक्ष्मी सनराइज बैंकबाट लिएको कर्जा भुक्तानीका साथै आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणलाई लगानीको अवसर प्रदान गर्ने उद्देश्यले सेयर जारी गरेको जनाएको छ ।

८२ मेगावाट क्षमताको आयोजनाको प्रति मेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ रहेको छ भने आयोजनाको कुल लागत १६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवा उपलब्ध बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो सेयर’ प्रणालीमार्फत आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन् ।