शीर्षकहरू

‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सार्वजनिक, १ अर्ब ६० करोडको म्युचुअल फण्ड बिक्रीमा

‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सार्वजनिक, १ अर्ब ६० करोडको म्युचुअल फण्ड बिक्रीमा

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले आज (माघ ४ गते) देखि सामूहिक लगानी कोष ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ को इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याएको हो । नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको सामूहिक लगानी कोष योजना हो ।

उक्त योजनाको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले कुल १६ करोड इकाई निष्काशन गरिनेछ । निष्काशन गरिने कुल १६ करोड इकाईमध्ये न्यूनतम १५ प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई प्रवर्धक कम्पनी र योजना व्यवस्थापकका लागि सुरक्षित गरिएको छ ।

तीमध्ये १४ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाई कोष प्रवर्धक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लागि र १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापकका लागि सुरक्षित गरिएको हो । बाँकी १३ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिनेछ ।

उक्त योजनाको इकाईमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । योजनामा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म सबै इकाई बिक्री नभएमा माघ १८ गतेसम्म आवेदन अवधि थपिने क्यापिटलले जनाएको छ ।

इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकास गरिएको ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कोषले कुल संकलित रकममध्ये ७० देखि ७८ प्रतिशतसम्म रकम पूँजी बजारको इक्विटी साधनमा लगानी गर्ने योजना बनाएको छ भने बाँकी रकम स्थिर आम्दानी दिने ऋणपत्र तथा अन्य सुरक्षित उपकरणमा लगानी गरिनेछ ।

योजनाको १० वर्षे कार्यकालमा करिब १३ प्रतिशत आन्तरिक प्रतिफल दर (आईआरआर) हासिल गर्ने लक्ष्य राखिएको छ । हाल नेप्सेमा देखिएको साइडवे प्रवृत्तिको बजार अवस्थाबाट दीर्घकालीन रूपमा लाभ लिन सक्ने सम्भावना यस योजनामा रहेको इक्रा नेपालको टिप्पणी छ ।

null

सेबोनले पुस १३ गते कम्पनीलाई १ अर्ब ६० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशनको स्वीकृति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै नेपाल लाइफ क्यापिटलले ‘नेपाल लाइफ म्युचुअल फण्ड’ अन्तर्गत ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक बन्दमुखी (क्लोज्ड–एन्डेड) म्युचुअल फण्ड योजना सञ्चालनको तयारी गरेको छ । यो नेपाल लाइफ क्यापिटलको पहिलो म्युचुअल फण्ड योजना हो ।

म्युचुअल फण्ड निष्काशनका लागि गराइएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा रेटिङ नेपालले कोष प्रवर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ डबल ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी–३ रेटिङ प्रदान गरेको छ ।

इक्रा नेपालका अनुसार सन् २०२२ को जनवरीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बहुमत स्वामित्व अधिग्रहण गर्नुअघि लगानीको क्यारीफरवार्ड प्रभावका कारण क्यापिटलको इक्विटी लगानी प्रदर्शन औसत स्तरमा देखिएको थियो । यद्यपि, नियामक मापदण्ड र लगानी नीतिको पालना गर्दै पहिलो सामूहिक लगानी कोष योजनामा नेट एसेट भ्यालु (एनएभी) वृद्धि कायम राख्ने क्षमता आगामी दिनमा परीक्षण हुने उल्लेख गरिएको छ ।

नेपाल लाइफ क्यापिटल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी हो । क्यापिटलमा इन्स्योरेन्स कम्पनीको ५४ प्रतिशत शेयर स्वामित्व रहेको छ । साथै, इन्स्योरेन्स कम्पनीले प्रस्तावित सामूहिक लगानी कोषको सार्वजनिक निष्काशनमा १४ प्रतिशत रकम लगानी गर्ने प्रतिबद्धता जनाएको इक्रा नेपालले जनाएको छ ।

स्वामित्व संरचनाअनुसार क्यापिटलको सञ्चालक समितिमा मूल बीमा कम्पनीका तीन जना प्रतिनिधि (एक निर्देशक र दुई वरिष्ठ अधिकारी) तथा दुई स्वतन्त्र निर्देशक रहेका छन् । प्रस्तावित कोषको प्रभावकारी निगरानी र व्यवस्थापनका लागि अनुभवी कोष पर्यवेक्षक तथा दक्ष व्यवस्थापन टोली नियुक्त गरिएको क्यापिटलले जनाएको छ, जसले दीर्घकालीन रूपमा कोष व्यवस्थापनलाई सकारात्मक बनाउने अपेक्षा गरिएको छ ।