शीर्षकहरू

राष्ट्र बैंकले ९ वटा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ झिकिसकेपछि निक्षेप संकलनमार्फत २० अर्ब तान्दै

राष्ट्र बैंकले ९ वटा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ झिकिसकेपछि निक्षेप संकलनमार्फत २० अर्ब तान्दै

काठमाडौँ। बजारमा तरलता बढी भएपछि नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण प्रवाहका लागि उपलब्ध रकम अत्यधिक भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि उक्त कदम चालेको हो ।

तरलता दीर्घकालीन प्रकृतिको देखिएकाले राष्ट्र बैंकले पछिल्ला दुई सातामा ९ वटा ऋणपत्र जारी गर्दै एक वर्ष अवधिका लागि करिब २ खर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । आज भने फरक उपकरण प्रयोग गर्दै ८४ दिनका लागि निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो ।

यसअघि पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले नियमित रूपमा सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा तान्दै आएको थियो । तर पछिल्ला दुई सातामा ऋणपत्र जारीमा केन्द्रित हुँदा निक्षेप संकलन उपकरण प्रयोग गरिएको थिएन । अब तत्काल ऋणपत्र जारी नहुने भएपछि राष्ट्र बैंकले करिब तीन महिनाका लागि पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनमा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

निक्षेप संकलनमा न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ । बोलकबोल ब्याजदरका आधारमा हुने र बहुब्याजदरमा बहु–बोलकबोल गर्न सकिने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।