शीर्षकहरू

आईडिया एक्सिलेन्स अवार्ड २०२५ घोषणा

नेपाली इन्टेरियर डिजाइनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने लक्ष्य

आईडिया एक्सिलेन्स अवार्ड २०२५ घोषणा

काठमाडौं । नेपालको इन्टेरियर डिजाइन क्षेत्रलाई समर्पित प्रतिष्ठित आईडिया एक्सिलेन्स अवार्ड २०२५ को औपचारिक घोषणा गरिएको छ। यो अवार्ड इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (IDEA Nepal) द्वारा आयोजना गरिएको हो, जसको उद्देश्य सिर्जनशील नेपाली इन्टेरियर डिजाइनरहरू तथा इन्टेरियर डिजाइन अध्ययनरत विद्यार्थीहरूको सम्मान, पहिचान र प्रोत्साहन गर्नु हो।

पहिलो संस्करण आईडिया एक्सिलेन्स अवार्ड २०२४ को उल्लेखनीय सफलतापछि, यसको दोस्रो संस्करण २० डिसेम्बर २०२५ मा घोषणा गरिएको हो। यस अवार्डले नेपालको इन्टेरियर डिजाइन क्षेत्रको सिर्जनशीलता, नवीन सोच र व्यावसायिक उत्कृष्टतालाई राष्ट्रिय स्तरमा उजागर गर्ने लक्ष्य लिएको छ।

आईडिया एक्सिलेन्स अवार्ड २०२५ अन्तर्गत कुल चार वटा विधा (क्याटेगरी) रहेका छन्। यसमा तीन मुख्य परियोजना विधाहरू रेसिडेन्सियल (आवासीय), कमर्सियल (व्यावसायिक) र हस्पिटालिटी (आतिथ्य) समावेश छन्। यसका अतिरिक्त, यस वर्षदेखि नयाँ र विशेष रूपमा “थिम अफ द इयर” (Theme of the Year) क्याटेगरी सुरु गरिएको छ।

“थिम अफ द इयर” क्याटेगरी अन्तर्गत प्रत्येक वर्ष नेपालको सांस्कृतिक, परम्परागत, भौगोलिक, सम्पदागत र दिगोपनसँग सम्बन्धित नवीन विषयवस्तुहरू आधारित डिजाइनलाई प्रोत्साहन गरिनेछ। यस क्याटेगरीको मुख्य उद्देश्य इन्टेरियर डिजाइनमार्फत नेपालको भौगोलिक पहिचान, संस्कृति, जातीयता, परम्परा र जनजीवनको संरक्षण र प्रवर्द्धन गर्नु हो।

यस वर्षको थिम “The Himalayan Monastic Life " तय गरिएको छ। यस अवार्डका लागि दर्ता प्रक्रिया २५ जनवरी २०२६ सम्म खुला रहनेछ, भने डिजाइन सबमिसनको अन्तिम म्याद ५ फेब्रुअरी २०२६ तोकिएको छ। अवार्ड वितरण समारोह फेब्रुअरी २०२६ को अन्त्यतिर आयोजना गरिने योजना रहेको छ, जसको औपचारिक मिति पछि घोषणा गरिनेछ।

आईडिया एक्सिलेन्स अवार्ड २०२५ ले राष्ट्रिय स्तरमै सीमित नरही अन्तर्राष्ट्रिय सहभागिता र पहिचानलाई पनि जोड दिएको छ। यस अन्तर्गत Designer of the Year, Sustainable Designer of the Year र Heritage Designer of the Year विधाका तीन उत्कृष्ट विजेताहरूले अन्तर्राष्ट्रिय APSDA Award मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

APSDA (Asia Pacific Space Designers Association) एशिया–प्रशान्त क्षेत्रका १५ भन्दा बढी एशियाली देशहरूको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय संस्था हो, जहाँ IDEA Nepal नेपालबाट आबद्ध संस्था (Associated Organization) का रूपमा सहभागी रहेको छ। यस पहलमार्फत IDEA Nepal ले नेपाली इन्टेरियर डिजाइनलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्दै नेपाल बाहिर समेत नेपाली डिजाइनको पहिचान विस्तार गरिरहेको छ।

आईडिया नेपालले यस कार्यक्रमलाई सफल बनाउन इन्टेरियर डिजाइन कलेज तथा संस्थानहरू, उद्योग विज्ञहरू, सामग्री आपूर्तिकर्ता (भेन्डरहरू) र अन्य सरोकारवालाहरू लाई यस अभियानको हिस्सा बन्न आह्वान गरेको छ।

आईडिया एक्सिलेन्स अवार्ड २०२५ नेपाली इन्टेरियर डिजाइन उद्योगको समग्र विकास, अन्तर्राष्ट्रिय पहुँच र सांस्कृतिक पहिचान प्रवर्द्धनतर्फ एक महत्वपूर्ण कदमका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।