काठमाडौँ । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ। सहकारी ठगीसम्बन्धी मुद्दामा मंगलबार न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले उक्त आदेश जारी गरेको हो।
वीरगञ्जस्थित ‘सानो पाइला बचत तथा ऋण सहकारी संस्था’ को रकम अपचलन गरेको आरोपमा गत असार १ गते लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको थियो। सो मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।
अदालतले धरौटी बुझाउन आदेश दिएसँगै रवि लामिछाने सोही प्रक्रियामा रहेको पर्सा जिल्ला अदालतले जनाएको छ। अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि आगामी कारबाही अघि बढाइनेछ।
यसअघि लामिछाने अदालतमा हाजिर भएर चितवन–२ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता गर्न तयारीमा रहेका थिए। चुनावी माहोलका बीच अदालतको यो आदेश सार्वजनिक भएपछि राजनीतिक वृत्तमा समेत यसले ध्यान तानेको छ।
आर्थिकन्यूज