काठमाडौं । सरकारले आयोडिन युक्त नूनमा आयोडिनको मात्रा घटाउने तयारी थालेको छ । हाल नेपालमा बिक्री वितरण हुँदै आएको आयोडिनयुक्त नूनमा आयोडिनको मात्रा धेरै रहेको भन्दै त्यसलाई घटाउने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसका लागि आयोडिनयुक्त नून (उत्पादन र बिक्री वितरण) ऐन, २०५५ शंसोधन गरेर राजपत्रमा प्रकाशित गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश कुमार बुढाथोकिले जानकारी दिए ।
हाल नेपालमा आयोडिनयुक्त नून साल्ट ट्रेडिङ कर्पाेरेशन नेपालले आयात तथा बिक्री वितरण गर्दै आएको छ । उक्त नूनमा आयोडिनको मात्र प्याकिङ गर्दा ३० पीपीएम (पार्टस अफ पर मिलियन) र भान्छामा पुगेपछि कम्तीमा १५ पीपीएम हुनुपर्ने व्यवस्था छ । यो आज भन्दा ३२ वर्ष अघिको मापदण्ड हो । तत्कालिन श्री ५ को सरकारले यो मापदण्ड लागु गरेको हो ।
त्यस भन्दा पहिलो नूनमा आयोडिनको मात्र धेरै कम थियो । बालबालिकामा मानसिक विकासमा अवरुद्ध भएको, गर्भावस्थामा समस्या भएको, गलगाँड जस्तो रोग बढ्न थालेको, थाइराइड, हर्मनको कमी देखिन थालेपछि श्री ५ सरकारले आयोडिनको मात्रा बढाउने निर्णय गरेको थियो ।
नूनमा आयोडिनको मात्रा मिसावट गर्नु पूर्व सुई मार्फत आयोडिनको मात्रा दिइन्थ्यो । त्यो प्रभावकारी नभएपछि नूनमा मिसाउन थालिएको थियो ।
उत्पादन गरेर भान्ससम्म आइपुग्दा, भान्सामा प्याकेट खोलेर राख्दा आयोडिनको मात्रा उडेर जाने भएकाले उत्पादन स्थान र भान्छामा पुगेपछिको मात्रा फरक राखिएको साल्ट ट्रेडिङले जानकारी दिएको छ ।
तर, उक्त मात्रा विश्व स्वास्थ्य संगठनको भन्दा बढी भएको जानकारहरु बताउँछन् । भारतमा पनि नेपालको भन्दा केही गुणा कम आयोडिन मिसावट गरिएको छ । विभिन्न निकायले गरेको अध्ययनमा पनि नेपालमा आयोडिनको मात्रा धेरै भएको पाइएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी बताउँछन् ।
उनले भने, 'विभिन्न अध्ययनहरुले पनि देखाउँछ कि नेपालको आयोनूनमा आयोडिनको मात्र बढी छ । यसले गर्दा हर्मोनमा समस्या आउने, थाइराइड ग्रन्थि धेरै एक्टिभ हुने लगायतका विभिन्न रोगहरु निम्त्याएको छ । हामीले अस्पतालहरूको रिपोर्ट अध्ययन गर्दा पनि नेपालमा आयोडिनको मात्रा जुन छ त्यसले समस्या श्रृजना भएको पाएका छौँ । त्यसैले यसलाई कम गर्नु पर्दछ ।’
मात्रा कति राख्ने भन्ने विषयमा निचोडमा भने मन्त्रालय पुगिसकेको छैन । त्यसका लागि विज्ञ सम्मिलित समितिमा छलफल गरिने उनले बताए ।
उनले भने, 'यसबारे छलफल भइरहेको छ । विज्ञ सहितको समितिले अध्ययन गर्दछ । कति मात्रा घटाउने भनेर निचोड निकाल्छ, अनि सोही अनुसार ऐन शंसोधन गर्दछौँ ।’
तर, कतिपए जनकारहरुले भने नेपालको नूनमा भएको आयोडिन नर्मल नै भएको बताउँदै आएका छन् । उनीहरुका अनुसार भान्सामा ल्याएर खोलेपछि त्यसको मात्रा उडन थाल्छ । यसरी, खोलेको जति धेरै दिन भयो त्यतिनै मात्रा उड्छ । नेपालमा १ केजीको प्याकेट नूनको प्रचलन छ । '५ जनाको परिवारले सो नून सक्काउन १ महिनाभन्दा धेरै दिन लाग्छ । खुलेको १५ दिनदेखि आयोडिनको मात्रा अत्यन्तै न्यून हुन्छ । नेपालको परिवाटी अनुसा यो मात्रा ठिकै हो ।’ उनले थपे, 'मात्रा घटाएको खण्डमा १००/२०० ग्रामको प्याकेटमा पनि उपलब्ध गराउनु पर्दछ ।’
लक्ष्मण लम्साल