काठमाडौं । प्रिमियर डिस्टिलरी लिमिटेडले प्राथमिक शेयर निष्कासन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ । यस सम्बन्धमा मिति २०८२ माघ ६ गते काठमाडौंको थापाथलीस्थित प्रिमियर डिस्टिलरी लिमिटेडको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो । सम्झौतामा प्रिमियर डिस्टिलरीका तर्फबाट सञ्चालक गौरव शारडा र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।
वि.सं. २०६९ सालमा सुनसरीको दुहबीमा एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा स्थापना भएको प्रिमियर डिस्टिलरी लिमिटेड नेपालका अत्याधुनिक एकीकृत मदिरा उत्पादन उद्योगमध्ये एक हो । कम्पनीले भोड्का, ह्विस्की, रम र जिन उत्पादनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्युट्रल अल्कोहल उत्पादन गर्दै आएको छ ।
नेपालकै आधुनिक स्वचालित बोटलिङ लाइन र गुणस्तरीय नियन्त्रण प्रणालीमार्फत सञ्चालन भइरहेको यस उद्योगले आफ्नै प्रयोगका साथै देशभरका अन्य बोटलिङ उद्योगलाई समेत स्पिरिट आपूर्ति गर्दै आएको छ । यसले मदिरा उत्पादनमा आयात निर्भरता घटाउँदै स्वदेशी उत्पादनलाई मजबुत बनाएको कम्पनीको भनाइ छ ।
कम्पनीले “द हिमालयन रिजर्भ” ह्विस्की तथा भारतको मोहन मिकिन लिमिटेडसँगको फ्रेन्चाइज सम्झौताअन्तर्गत “ओल्ड मङ्क रम” लगायत विभिन्न ब्रान्डका मदिरा उत्पादन गर्दै आएको छ । अत्याधुनिक प्रविधि, दिगो सञ्चालन र ठूलो लगानीका माध्यमबाट प्रिमियर डिस्टिलरी लिमिटेडले नेपाली स्पिरिट्स उद्योगमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ ।
आर्थिकन्यूज