काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। बुधबार सामान्य करेक्सन पछि बिहीबार बजार बढेको हो।
बिहीबार नेप्से परिसूचक ९.२३ अंकले बढेर २,७१४.६१ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.६६ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंकले घटेको छ।
कारोबार रकम पनि बढेको छ। बुधबार ८ अर्ब ९२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
१३ मध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशतले बढेको छ। विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ। व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशतले घटेको छ।
यस दिन चार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयर सकारात्मक सर्किटमा पुगेका हुन्।
त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्य ९ प्रतिशतले बढेको छ। कालिका पावर कम्पनीको शेयर मूल्य यस दिन सर्वाधिक ६.२५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४० करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। मञ्जुश्री फाइनान्सको करिब ३६ करोड र एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आर्थिकन्यूज