काठमाडौँ। सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले अराजक समूहको दादागिरी र धाकधम्कीका कारण आज (८ माघ) बोलाइएको साधारण सभा सञ्चालन हुन नसकेको जनाएको छ। कम्पनीले यसबारे औपचारिक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।
कम्पनीका अनुसार, केही लगानीकर्ताले शेयरधनी, रजिष्ट्रार कार्यालयका कर्मचारी, कम्पनीका पदाधिकारी र निर्वाचन अधिकृतमाथि दादागिरी शैलीको दबाब र धम्की दिएर साधारण सभाको नियमित कामकारवाहीमा अवरोध पुर्याएका थिए।
सिनर्जी पावरको संचालक समितिले २०८२ पुस ३ गतेको बैठकमा २०८२ पुस २८ गते कम्पनीको १९ औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो। तर, सो दिन गणपूर्तिको संख्या नपुगेको कारण सभा स्थगित भएको थियो र आज माघ ८ गते पुनः सभा बोलाइएको थियो।
सभा सुरु हुनुअघि अराजक समूहले सभा स्थल कब्जा गरेर शेयरधनी उपस्थिति पुस्तिकामा हाजिरी लेख्न नदिँदा, प्रोक्सी दर्ता गरेका शेयरधनीहरुको प्रमाणिकरणमा हस्तक्षेप भएको कम्पनीले जनाएको छ । केही व्यक्तिहरुले प्रोक्सी प्रमाणित गर्न खोज्दा कर्मचारीमाथि हातपात गर्ने प्रयाससमेत गरेका थिए।
यस कारण सञ्चालक समितिको निर्णय अनुसार आजको साधारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ। कम्पनीले यस किसिमको अराजक गतिविधिप्रति खेद व्यक्त गरेको छ।

आर्थिकन्यूज