शीर्षकहरू

शिखर पावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन

शिखर पावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। शिखर पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (माघ ९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले माघ ६ गतेदेखि उक्त समूहका लगानीकर्ताका लागि आईपीओ खुला गरेको हो।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबरको ३२ करोड रुपैयाँको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात २ करोड २२ लाख रुपैयाँ बराबरको २ लाख २२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो। उक्त सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन प्रयोजनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

शिखर पावरले ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजना सञ्चालन गरेको छ। उक्त आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १८ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) अवधि २९.०८ वर्ष बाँकी रहेको छ।

कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.९२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता अवधि १३.६४ वर्ष रहेको छ। उक्त आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यावसायिक उत्पादन सुरु भइसकेको छ।