शीर्षकहरू

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने अवधि माघ ११ गतेसम्म लम्बियो

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने अवधि माघ ११ गतेसम्म लम्बियो

काठमाडौं। पाल्पा सिमेन्ट इण्डस्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने अवधि लम्ब्याएको छ। कम्पनीका अनुसार अब उक्त आईपीओमा माघ ११ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले माघ ४ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबरको ७५ करोड रुपैयाँको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो। उक्त सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

कम्पनीले पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) तथा खानी रहेको पाल्पा जिल्लाका उद्योग प्रभावित तथा खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि उक्त सेयर निष्कासन गरेको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिङटार र गैँडाकोट शाखा, प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी र बेलाटारी शाखा तथा सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

उद्योग प्रभावित तथा खानी प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद आवेदन फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

आईपीओ निष्कासन प्रयोजनका लागि गराइएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

पाल्पा सिमेन्ट उद्योग: वित्तीय स्थिति मध्यम, भारतसम्म निर्यात गर्दै

पाल्पा सिमेन्ट सन् २००९ मा स्थापना भएको हो र यसको कारखाना नवलपरासीमा छ।तानसेन ब्रान्ड अन्तर्गत ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन गर्दै आएको पाल्पा सिमेन्ट उद्योग नवलपरासीको सुनवलमा सञ्चालन भइरहेको छ।

कम्पनीले दैनिक १  हजार ८०० टन क्लिंकर र २  हजार २०० टन सिमेन्ट उत्पादन गर्ने क्षमता राखेको छ र उत्पादित सिमेन्ट भारतमा पनि निर्यात गर्दै आएको छ।

कम्पनीको वित्तीय स्थिति मध्यम छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ९ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो वर्षहरूमा पनि क्रमशः २०८०/८१ मा ६ करोड ९८ लाख र २०७९/८० मा ३ करोड ८७ लाख रुपैयाँ खुद नाफा भएको थियो। सो वर्षको प्रति सेयर आम्दानी ३.२४ रुपैयाँ रहेको छ।

कम्पनीको वर्षको बिक्री आम्दानी ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ। अघिल्ला वर्षहरूमा क्रमशः २०८०/८१ मा ४ अर्ब २२ करोड र २०७९/८० मा ४ अर्ब १२ करोड रुपैयाँ बिक्री भएको थियो। बैंकको ब्याजदर घट्दा वित्तीय लागत पनि कम भएको छ। २०८१/८२ मा ५५ करोड ८४ लाख रुपैयाँ, अघिल्लो वर्ष ६९ करोड ५२ लाख रुपैयाँ रहेको छ।

लामो अवधिको ऋण ५ अर्ब ६६ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ (पुनर्मूल्यांकन बाहेक) ११९ रुपैयाँ, पुनर्मूल्यांकनसहित १३५ रुपैयाँ छ। कम्पनीसँग १ अर्ब ७ करोड रुपैयाँ जगेडा कोष पनि रहेको छ।

साधारण लगानी फिर्ता अवधि ६ वर्ष ८ महिना, डिस्काउन्टमा ९ वर्ष १२ महिना रहेको छ। कम्पनीको सेयर संरचना अनुसार २०% सेयर सर्वसाधारण समूहको र ८०% संस्थापक समूहको छ। अध्यक्ष राजेशकुमार अग्रवाल र अर्का संस्थापक विष्णुकुमार अग्रवालले समान ३६.१२% सेयर स्वामित्व राखेका छन्।