काठमाडौँ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले २० लाख रुपैयाँ राशीको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । यस वर्षको अवार्ड पानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संस्था वा समूहलाई प्रदान गरिनेछ ।
रोटरी इन्टरनेशनल विश्वकै सबैभन्दा पुरानो सेवामूलक संस्था हो, जसको स्थापना सन् १९०५ मा अमेरिकाको सिकागोबाट भएको हो । हाल विश्वका २२१ मुलुकमा फैलिएका ४६ हजारभन्दा बढी रोटरी क्लबमार्फत १२ लाखभन्दा बढी सदस्य सामाजिक सेवामा सक्रिय छन् ।
नेपालमा रोटरीको सुरुवात सन् १९५९ मा भएको हो । सन् २००८ सम्म भारतको रोटरी डिस्ट्रिक्टअन्तर्गत सञ्चालन हुँदै आएको रोटरी नेपालमा सन् २००८ जुलाईदेखि छुट्टै रोटरी डिस्ट्रिक्ट ३२९२ स्थापना भएको थियो । हाल नेपालभर १६३ वटा रोटरी क्लब सक्रिय छन् ।
गोपाल–कमला राजभण्डारी रोटरी अवार्डको सुरुवात सन् २०१० मा भएको हो । प्रारम्भमा १० लाख रुपैयाँ नगद पुरस्कार दिइँदै आएको यस अवार्डको राशि सन् २०२४ देखि बढाएर २० लाख रुपैयाँ पुर्याइएको हो ।
अवार्डको उद्देश्य आफ्नो पेशा, व्यवसाय वा संस्थागत भूमिकामार्फत देश तथा समाजको हितमा निस्वार्थ र समर्पित योगदान पुर्याउने व्यक्ति वा संस्थालाई सम्मान गर्नु रहेको रोटरीले जनाएको छ । यसले समाजमा उदाहरणीय कार्यलाई प्रोत्साहन गर्ने विश्वास पनि लिइएको छ ।
नेपालको कुनै पनि नागरिक, नागरिक समूह वा नेपालमा कानुनी रूपमा दर्ता भएका संस्थाहरूले यो अवार्डका लागि आवेदन दिन सक्नेछन् । पेशागत उत्कृष्टता, उच्च नैतिकता, नवप्रवर्तनशील सोच, दीर्घकालीन प्रतिबद्धता, समुदायको जीवनस्तर उकास्न योगदान तथा कर्तव्यभन्दा माथि उठेर सेवा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
अवार्डका लागि आवेदन फारम रोटरी डिस्ट्रिक्ट कार्यालय थापाथली, देशभरका १६३ वटै रोटरी क्लब तथा अनलाइन माध्यमबाट प्राप्त र बुझाउन सकिनेछ । आवेदन दिने अन्तिम मिति २०८२ माघ २२ गते (फेब्रुअरी ५, २०२६) रहेको छ ।
यो अवार्ड २०८२ फागुन ७ देखि ९ गते (फेब्रुअरी १९–२१, २०२६) पोखरामा आयोजना हुने १८औँ रोटरी डिस्ट्रिक्ट कन्फरेन्सका अवसरमा प्रदान गरिनेछ ।
आर्थिकन्यूज