काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (माघ ११ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले पुस २५ गतेदेखि उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। यसअघि आवेदन अवधि थपिए पनि आजबाट सो आईपीओ बन्द हुन लागेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबरको ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। सोमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो।
यो शेयर पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।
आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामका लागि प्रतिदरखास्त २ रुपैयाँ शुल्क तोकिएको छ।
पाल्पा सिमेन्टले २०७६ साल वैशाखदेखि क्लिंकर र २०७७ साल वैशाखदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता १ हजार ८०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता २ हजार २०० मेट्रिक टन रहेको छ। उद्योग क्षेत्रफल १० बिघा १३ कठ्ठा १२ धुर र खानी क्षेत्रफल १७२ रोपनी ११ आना ३ पैसा १ दाम रहेको छ।
क्रेडिट रेटिङ्गतर्फ इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले पाल्पा सिमेन्टलाई ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
आर्थिकन्यूज