शीर्षकहरू

भुजुङ हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणलाई ८ लाख ३० हजार कित्ता

भुजुङ हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणलाई ८ लाख ३० हजार कित्ता

काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले आज (माघ १२ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणको आईपीओ निष्काशनपछि कम्पनीले अब दोस्रो चरणअन्तर्गत आम लगानीकर्तालाई शेयर बिक्री गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोअनुसार पहिलो चरणमा १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ।

दोस्रो चरणमा कम्पनीले कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता शेयर सुरक्षित गरी बाँकी ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। निष्काशन छिटोमा माघ १५ गते र सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा माघ २६ गतेसम्म बन्द हुने जनाइएको छ।

आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालय तथा ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

कम्पनीले सञ्चालन गरिरहेको ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब २४ करोड ९० लाख रुपैयाँ रहेको आयोजनाबाट २०८१ वैशाख ६ गतेदेखि व्यावसायिक रुपमा विद्युत उत्पादन हुँदै आएको छ।

आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै ३० वर्ष बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको छ।