शीर्षकहरू

नेपाल–साउदी श्रम सम्झौतामा हस्ताक्षर, श्रम सम्झौता भएका मुलुक १३ पुगे

नेपाल–साउदी श्रम सम्झौतामा हस्ताक्षर, श्रम सम्झौता भएका मुलुक १३ पुगे

काठमाडौं । नेपाल सरकार र साउदी अरेबिया सरकारबीच श्रमिक भर्तीसम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय राजेन्द्र सिंह भण्डारी र साउदी अरेबियाका मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलैमान अल–राज्हीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

साउदी अरेबियाको राजधानी रियादमा आयोजित औपचारिक समारोहमा सम्झौता सम्पन्न भएको हो। यससँगै नेपालले द्विपक्षीय श्रम सम्झौता गरेका मुलुकको संख्या १३ पुगेको छ। श्रम मन्त्रालयका अनुसार ओमानसँग पनि श्रम सम्झौताको मस्यौदामा सहमति भइसकेको छ।

सम्झौताले साउदी अरेबियामा वैधानिक रोजगारीका लागि जाने नेपाली श्रमिकको प्रभावकारी, पारदर्शी र नैतिक भर्ती प्रक्रिया सुनिश्चित गर्नुका साथै श्रमिक र रोजगारदाता दुवैको हकहित संरक्षण गर्ने लक्ष्य राखेको छ। सम्झौतापछि दुवै मन्त्रीले श्रम सहकार्यलाई थप मजबुत बनाउने र नेपाल–साउदी अरेबिया द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। हस्ताक्षर समारोहपछि दुवै पक्षबीच द्विपक्षीय वार्ता पनि सम्पन्न भएको थियो।

साउदी अरेबिया नेपाली वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमध्ये एक हो। यस सम्झौताले साउदी अरेबियामा कार्यरत तथा भविष्यमा जाने नेपाली श्रमिकको सुरक्षा, अधिकार र कल्याण सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा साउदी अरेबिया जानका लागि १ लाख ५२ हजार ५५७ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै, आर्थिक वर्ष २०८०/८१ मा १ लाख ४१ हजार ५०२ जना र आर्थिक वर्ष २०७९/८० मा ४६ हजार ९६० जनाले श्रम स्वीकृति लिएका थिए।

नेपालले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता तथा समझदारीपत्र गर्दै आएको छ। नेपालले पहिलोपटक सन् २००५ मा कतारसँग द्विपक्षीय श्रम सम्झौता गरेको थियो। त्यसपछि संयुक्त अरब इमिरेट्ससँग सन् २००७ मा श्रम समझदारी गरिएको थियो, जुन सन् २०१९ मा नवीकरण गरिएको छ। त्यस्तै, दक्षिण कोरियासँग सन् २००७ मा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो। बहराइनसँग सन् २००८ मा श्रम समझदारी भएको थियो भने जापानसँग सन् २००९ मा सहकार्य सम्झौता गरी सन् २०१९ मा नवीकरण गरिएको छ।

यसैगरी, मलेसियासँग सन् २०१८ मा श्रमिक पठाउने सम्बन्धी समझदारी भएको छ भने मौरिसससँग सन् २०१९ मा श्रम समझदारी सम्पन्न भएको थियो। इजरायलसँग सन् २०२० मा कृषि तथा केयरगिभर क्षेत्रमा नेपाली श्रमिक पठाउने विषयमा सम्झौता गरिएको छ। पछिल्ला वर्षहरूमा नेपालले नयाँ श्रम गन्तव्य विस्तार गर्ने क्रममा संयुक्त अधिराज्य (यूके) सँग सन् २०२२ मा स्वास्थ्य क्षेत्रमा श्रमिक पठाउने समझदारी गरेको छ। साथै, रोमानियासँग सन् २०२३ मा श्रमिक भर्तीसम्बन्धी समझदारी र जर्मनीसँग दक्ष श्रमिक आदान–प्रदान तथा सहकार्यसम्बन्धी संयुक्त घोषणा गरिएको छ।