काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार पाँच बीमा कम्पनीले अझै पनि न्यूनतम चुक्ता पूँजी कायम गर्न सकेका छैनन्। प्राधिकरणले तोकेको समयसीमा समाप्त भएको तीन वर्ष पुगिसक्दा पनि दुई सरकारी बीमा कम्पनीसहित पाँचवटा कम्पनीले आवश्यक पूँजी पुर्याउन नसकेका हुन्।
प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीतर्फ राष्ट्रिय जीवन बीमा कम्पनीले चुक्ता पूँजी कायम गर्न सकेको छैन। यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सानिमा जिआईसी इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले पनि न्यूनतम चुक्ता पूँजी पुर्याउन सकेका छैनन्।
नेपाल बीमा प्राधिकरणको २०७८ साल चैत १० गते बसेको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था गरिएको थियो। प्राधिकरणले कम्पनीहरूलाई २०७९ चैत मसान्तसम्म समयसीमा दिएको थियो।
निर्धारित समयसीमाभित्र चारवटा कम्पनीले मात्रै न्यूनतम चुक्ता पूँजी पुर्याएका थिए। जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफ इन्स्योरेन्सले मात्रै प्राधिकरणले तोकेअनुसारको न्यूनतम पूँजी कायम गरेको थियो। निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पूँजी पुर्याएका थिए।
तोकिएकाे समयभित्र पूँजी वृद्धि गर्न नसकेपछि प्राधिकरणले थप समय दिएको भए पनि उक्त अवधिमा समेत सम्बन्धित कम्पनीहरूले चुक्ता पूँजी कायम गर्न सकेका छैनन्।
कुन कम्पनीको पूँजी कति अपुग ?
जीवन बीमा कम्पनीतर्फ राष्ट्रिय जीवन बीमा कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ मात्र पुगेको छ। निर्जीवन बीमा कम्पनीतर्फ युनाइटेड अजोड इन्स्योरेन्सको २ अर्ब ३१ करोड, प्रभु इन्स्योरेन्सको १ अर्ब ७० करोड, सानिमा जिआईसी इन्स्योरेन्सको २ अर्ब १५ करोड र राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ।
प्राधिकरणको प्रावधानअनुसार राष्ट्रिय जीवन बीमा कम्पनीको ४ अर्ब ८२ करोड रुपैयाँ पूँजी अपुग रहेको छ। यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको १९ करोड, प्रभु इन्स्योरेन्सको ८० करोड, सानिमा जिआईसी इन्स्योरेन्सको ३५ करोड र राष्ट्रिय बीमा कम्पनीको २ अर्ब २४ करोड रुपैयाँ पूँजी अपुग रहेको छ।
कुन कम्पनीको चुक्ता पूँजी सबैभन्दा बढी ?
जीवन बीमा कम्पनीतर्फ हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी सबैभन्दा बढी रहेको छ। प्राधिकरणको तथ्यांकअनुसार हिमालयन लाइफको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ पुगेको छ। प्राइम लाइफ, युनियन लाइफ र एशियन लाइफ मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ पुगेको छ, जसले यसलाई दोस्रो स्थानमा राखेको छ। तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ, जसको चुक्ता पूँजी ५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
नेशनल लाइफ इन्स्योरेन्सको ५ अर्ब ४७ करोड २७ लाख, एशियन लाइफको ५ अर्ब ११ लाख, सूर्यज्योति लाइफको ५ अर्ब १ करोड १९ लाख, आइएमई लाइफको ५ अर्ब, सन नेपाल लाइफको ५ अर्ब ३ करोड १२ लाख, रिलायबल लाइफको ५ अर्ब १९ करोड ६८ लाख, सानिमा लाइफको ५ अर्ब १ करोड ४९ लाख, सिटिजन लाइफको ५ अर्ब र प्रभु महालक्ष्मी लाइफको ५ अर्ब १० करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी पुगेको छ।
निर्जीवन बीमा कम्पनीतर्फ आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी सबैभन्दा बढी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ पुगेको छ। आईजिआई र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरपछि यो कम्पनी बनेको हो। शिखर इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ९२ करोड ३० लाख, नेपाल इन्स्योरेन्सको २ अर्ब ५४ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २ अर्ब ५० लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ अर्ब ८० लाख, नेको इन्स्योरेन्सको २ अर्ब ६९ करोड १५ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ अर्ब ६२ करोड २६ लाख र एनएलजी इन्स्योरेन्सको २ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
आर्थिकन्यूज