शीर्षकहरू

चुनावी माहोलले शेयर कारोबारमा उत्साह, 'प्रोफिट बुकिङ' को प्रेसरमा नेप्सेमा सामान्य करेक्सन

पछिल्ला निर्वाचनहरुमा नेप्सेको यात्राः उतार–चढावबीच देखिएको दीर्घकालीन सम्भावना

चुनावी माहोलले शेयर कारोबारमा उत्साह, 'प्रोफिट बुकिङ' को प्रेसरमा नेप्सेमा सामान्य करेक्सन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा शेयरबजारमा प्रारम्भिक उत्साह कायमै रहेको छ । तर लगानीकर्ताले प्रोफिट बुकिङ सुरु गरेपछि दबाब बढ्दा  सोमबार नेप्से परिसूचक सामान्य खुम्चिएको छ ।

लामो समयसम्म साइडवेज र दबाबमा रहेको नेप्सेमा गत साता यता उल्लेखनीय सुधार आएको छ । निर्वाचनको समयमा बजारमा तरलता बढ्ने र नयाँ सरकारले पुँजी बजारमैत्री नीति ल्याउने अपेक्षाले गर्दा कारोबार ह्वात्तै बढेको छ । सोमबार एकैदिन १६ अर्ब बढीको कारोबार भएको छ । 

पछिल्लो समय सबै राजनीतिक दलले अर्थतन्त्र र सेयर बजारलाई आफ्नो प्राथमिकतामा राखेका कारण पनि लगानीकर्ताहरु उत्साहित देखिएका छन्। सोमबारको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेपनि कारोबार रकमले भने बलियो साथ दिएको छ । यसले नेपाली पुँजी बजार अब बिस्तारै ’बुलिस’ ट्रेन्डतर्फ अघि बढ्न खोजेको विश्लेषण गरिएको छ।

सोमबार दिनभरको उतारचढावका बीच नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । आइतबार ५७.५५ अंकले बढेको नेप्से आज ३.०७ अंकले घटेर २७६९.०९ बिन्दुमा पुगेको छ।

बजारमा झिनो अंकले गिरावट भए पनि कारोबारमा उत्साह देखिएको छ। आज ३३२ कम्पनीका ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर खरिद–बिक्री हुँदा १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार १३ अर्ब ७७ करोड बराबरको कारोबार भएको थियो।

आज ९० कम्पनीको सेयर मूल्य बढेकोमा चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एसवाई प्यानल, हिमस्टार उर्जा, सप्तकोशी डेभलपमेन्ट बैंक र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, त्रीशुली जलविद्युत कम्पनीको सेयर मूल्य ९.५७ प्रतिशतले बढेको छ।

विश्लेषकहरुका अनुसार निर्वाचनको माहोलले राजनीतिक स्थायित्व, आर्थिक गतिविधिमा तीव्रता र नीतिगत सुधारको अपेक्षा बढेकाले सेयर बजारमा यस्तो उत्साह देखिएको हो। यदि यही लय कायम रह्यो भने आगामी दिनहमा बजारले अझ माथिल्लो विन्दु परीक्षण गर्ने सम्भावना बलियो देखिन्छ।

पछिल्ला निर्वाचनहरुमा नेप्सेको यात्राः उतार–चढावबीच देखिएको दीर्घकालीन सम्भावना

नेपालको सेयर बजार (नेप्से) ले निर्वाचनका हरेक चरणमा फरक–फरक चाल देखाउँदै आएको छ। राजनीतिक घटनाक्रमले छोटो अवधिमा उतार–चढाव ल्याए पनि, दीर्घकालमा बजारले आफूभित्रको सम्भावना देखाएको इतिहास छ।

वैशाख २०५६ को संसदीय निर्वाचनपछि नेप्से करिब ११ प्रतिशतले बढेको थियो। २०६४ को संविधानसभा निर्वाचनपछि नेप्से करिब १० प्रतिशतले उकालो लागेको थियो भने २०७० को निर्वाचनपछि नेप्से करिब ३५–४१ प्रतिशतले बढेको थियो। तर, सबै निर्वाचनमा बजार बढ्ने होइन। स्थानीय तहको निर्वाचन, २०७४ मा नेप्से करिब ९ प्रतिशतले घटेको थियो भने २०७९ को संसदीय निर्वाचनमा ठूलो उतारचढाव आएको थिएन।

विशेषज्ञहरुका अनुसार राजनीतिक स्थिरता हुँदा सेयर बजार बढ्ने गर्छ भने अस्थिरता हुँदा घट्ने गर्छ। नयाँ व्यक्ति वा दल सत्तामा आउँछ भन्ने आशाले लगानीकर्तामा उत्साह बढाउँछ र बजारमा सकारात्मक प्रभाव पर्छ। विगतमा भएको केही निर्वाचनको अनुभव अनुसार संसदीय निर्वाचनपछि नेप्से परिसूचक बढ्ने प्रचलन देखिएको छ। 

२०६४ को संविधानसभा निर्वाचन

संविधानसभा निर्वाचनको घोषणासँगै नेप्से सूचक ५०० विन्दुबाट तीव्र गतिमा उकालो लाग्दै करिब १००० विन्दु पार गरेको थियो। निर्वाचनको समयमा भने केही करेक्सन भई सूचक ७०० विन्दु आसपास झरे पनि, निर्वाचनपछि बजारले पुनः गति लिँदै करिब ११०० विन्दुसम्मको यात्रा तय ग¥यो। यसले राजनीतिक संक्रमणपछि बजार पुनः स्थिर हुँदै बढ्न सक्ने संकेत दिएको थियो।

२०७० को दोस्रो संविधानसभा निर्वाचन

२०६९ देखि नै ३०० विन्दुबाट उक्लिन थालेको नेप्से २०७० को निर्वाचनताका करिब ७०० विन्दुमा पुगेको थियो। निर्वाचनपछि भने बजारले उल्लेखनीय मजबुती देखाउँदै निरन्तर वृद्धि ग¥यो र अन्ततः १८८१ विन्दुसम्म पुग्न सफल भयो। यो चरणलाई नेप्सेको दीर्घकालीन बुल रनको आधारका रूपमा हेरिन्छ।

२०७४ का स्थानीय र संघीय निर्वाचन

२०७३ सालदेखि नै बजार दबाबमा रहेकाले २०७४ को स्थानीय तह र संघीय निर्वाचनताका नेप्सेले ठूलो उछाल लिन सकेन। १७०० विन्दुबाट झरेर १५०० आसपास पुगेको बजार निर्वाचनपछि पनि केही समय साइडवेज रह्यो। यद्यपि, यस चरणलाई बजारले आफूलाई पुनः सन्तुलनमा ल्याउने समयका रूपमा लिएको देखिन्छ।

२०७९ पछिको अवस्था

२०७९ को निर्वाचनपछि बजार तुरुन्तै उकालो लागेन। पुष्पकमल दाहाल नेतृत्वको सरकारको समयमा नेप्से साइडवेज रह्यो। तर, वि.सं. २०८१ मा केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि बजारमा उल्लेखनीय सुधार देखियो। निरन्तरता नपाए पनि सो अवधिमा नेप्से सूचक करिब ४० प्रतिशतसम्म बढ्नुले राजनीतिक स्थिरता र नीतिगत अपेक्षाले बजारलाई कति प्रभाव पार्न सक्छ भन्ने देखाएको छ।

इतिहास हेर्दा निर्वाचनका समयमा नेप्सेले अल्पकालीन उतार–चढाव देखाए पनि, प्रत्येक राजनीतिक संक्रमणपछि नयाँ सम्भावनाको ढोका खुलेको पाइन्छ। यही कारण आगामी निर्वाचन नजिकिँदै जाँदा लगानीकर्तामा दीर्घकालीन दृष्टिकोणसहित आशावाद बढ्दै गएको देखिन्छ।राजनीतिक स्थायित्व र निर्वाचनको सुनिश्चिततासँगै शेयर बजारमा पनि सकारात्मक संकेत देखिन थालेका छन्। बजारमा कारोबार बढ्नु, सूचकमा सुधार देखिनु र लगानीकर्ताको सक्रियता बढ्नु चुनावी वातावरणसँग जोडेर हेरिएको छ। बजार विश्लेषकहरुका अनुसार “निर्वाचन अनिश्चितता हट्दै जानु, प्रमुख दलहरुको प्रतिबद्धता र नयाँ राजनीतिक सहकार्यले लगानीकर्तामा भरोसा बढाएको छ।”

जेन–जी आन्दोलनपछि बनेको सरकारले नयाँ परिवर्तन ल्याउने आशा लगानीकर्तामा छ । चुनावले मात्र बजार बढाउँदैन, राजनीतिक स्थिरता, नयाँ नीति, भ्रष्टाचार नियन्त्रण र लगानीकर्ताको मनोबलले बजारको दिशा निर्धारण गर्छ। यसैले यसपटकको निर्वाचनपछिको बजार कस्तो हुन्छ भन्ने कुरा चासोको बिषय रहेको छ । 

राजनीतिक सहमति, चुनावी तयारी र स्थायित्वको अपेक्षाले अर्थतन्त्र चलायमान हुने संकेत दिँदै गर्दा, आगामी दिनमा शेयर बजार थप सकारात्मक दिशामा अघि बढ्ने सम्भावना रहेको विश्लेषकहरुको निष्कर्ष छ ।

null