काठमाडौं । निर्वाचन आयोगको अनुरोधअनुसार आमनिर्वाचन सम्पन्न भई आयोगबाट खाता बन्द गर्न निर्देशन नआएसम्म ‘इलेक्शन क्याम्पेनिङ’ प्रयोजनका लागि खोलिने बैंक खाताको सञ्चालनमा सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
उक्त निर्देशनअनुसार राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारका लागि खोलिने यस्ता खातामा आवश्यक विशेष छुटको व्यवस्था लागू हुनेछ। निर्वाचन आयोगबाट खाता बन्द गर्न निर्देशन नआएसम्म राजनीतिक दल, तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले खोल्ने निर्वाचन खर्च खातामा लागू हुने गरी यो छुट प्रदान गरिएको हो।
राष्ट्र बैंकका अनुसार निर्वाचन अभियान सञ्चालनका क्रममा आम्दानी–खर्चको कारोबार गर्न प्रत्येक दल वा उम्मेदवारले एउटा मात्र छुट्टै बैंक खाता खोल्न पाउनेछन्।
आयोग मातहतका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा आमनिर्वाचन अभियान सञ्चालनका क्रममा हुने आम्दानी–खर्च कारोबार नेपाली मुद्रा (रुपैयाँ–पैसा) मा गर्न सकिने गरी उक्त बैंक खाता खोल्न पाइने व्यवस्था गरिएको हो। यसका लागि ‘इलेक्शन क्याम्पेनिङ’ समूह वा सोही प्रकृतिका अन्य खातामार्फत कारोबार गर्न सकिने जनाइएको छ।
नेपाल राष्ट्र बैंकले “क”, “ख” र “ग” वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई सो व्यवस्था कार्यान्वयनमा सहजीकरण गर्न आग्रह गरेको छ। निर्वाचन खर्चको वित्तीय कारोबारलाई पारदर्शी, व्यवस्थित र सहज बनाउने उद्देश्यले यो निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ।
निर्वाचन आयोगले उक्त खाता बन्द गर्न निर्देशन नदिएसम्मका लागि यस व्यवस्थामा विशेष छुट प्रदान गरिएको जनाउँदै सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ।
आर्थिकन्यूज