काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालमा डिजिटल उपकरणको आयात संख्या बढेसँगै स्मार्टफोन, ल्यापटप र राउटरजस्ता उपकरणको मूल्य उल्लेखनीय रूपमा बढेको छ । यसले सरकारले संकलन गरेको राजस्व बढाए पनि उपभोक्तामाथि अतिरिक्त आर्थिक दबाब सिर्जना गरेको छ।
भन्सार विभागका तथ्यांकअनुसार, चालु आर्थिक वर्षमा पुससम्म १२ लाख ५२ हजार ६ सय ३४ वटा स्मार्टफोन आयात भएका छन्, जसको मूल्य २३ अर्ब २९ करोड ८३ लाख २२ हजार रुपैयाँ छ। यसबाट सरकारले ४ अर्ब ३४ करोड ५९ लाख ५६ हजार रुपैयाँ राजस्व उठाएको छ। अघिल्लो आर्थिक वर्षकै अवधिमा ११ लाख ११ हजार ५ सय ५६ वटा स्मार्टफोन १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार रुपैयाँमा आयात भएका थिए, र त्यसबाट ३ अर्ब ११ करोड ६८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
स्मार्टफोन आयात मूल्य गत वर्षको तुलनामा करिब २४ प्रतिशतले वृद्धि भएको छ। असोज महिनासम्म ८ लाख ४८ हजार ६० वटा स्मार्टफोन १३ अर्ब ६२ करोड ७५ लाख ३८ हजार रुपैयाँ बराबरमा आयात भएका थिए। यसले उपभोक्तासामु मूल्य वृद्धिको संकेत दिएको छ, जसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको छ।
ल्यापटप र नोटबुक आयात पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७५ हजार ५ सय ६७ वटा ल्यापटप आयात भएका छन्, जसको मूल्य ५ अर्ब २५ करोड ७४ लाख १९ हजार रुपैयाँ छ। यसबाट सरकारले ९९ करोड ८४ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्ष ६६ हजार ५९ वटा ल्यापटप ४ अर्ब ५२ करोड ९ लाख ८० हजार रुपैयाँमा आयात भएका थिए।
राउटर आयातमा पनि वृद्धी देखिएको छ। चालु आर्थिक वर्षमा ४ लाख ८९ हजार ३ सय ३६ वटा राउटर १ अर्ब २५ करोड ३ लाख ३७ हजार रुपैयाँमा आयात भएका छन्। प्रतिराउटर मूल्य गत वर्षको तुलनामा सस्तो भए पनि चालु आर्थिक वर्षको असोजदेखि पुससम्म प्रतिराउटर मूल्य औसत ६–७ प्रतिशतले बढेको देखिन्छ।
सिमकार्ड आयातमा सबैभन्दा ठूलो वृद्धी देखिएको छ। पुससम्म ३२ लाख ८२ हजार ५ सय ९३ वटा सिमकार्ड आयात भएका छन्, अघिल्लो वर्षको सोही अवधिमा मात्र १० लाख ५४ हजार ८ सय ११ वटा सिमकार्ड आयात भएका थिए।
यसैगरी स्मार्ट वाच, मोबाइल एक्सेसरिज, मेमोरी कार्ड, माउस र किबोर्डको आयात पनि बढेको छ। स्मार्ट वाचको आयात ११ करोड ८२ लाख १४ हजार रुपैयाँमा ४६ हजार १ सय ५७ वटा भएको छ भने मेमोरी कार्ड ५९ लाख ७ सय १७ वटा आयात भएका छन्।
आर्थिकन्यूज