शीर्षकहरू

मलेसियास्थित कम्पनीले ८ सय नेपाली श्रमिकलाई शून्य लागतमा रोजगारी दिने

मलेसियास्थित कम्पनीले ८ सय नेपाली श्रमिकलाई शून्य लागतमा रोजगारी दिने

काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा रोजगारीका लागि मलेसिया लैजाने भएको छ। तीमध्ये ६ सय जना महिला श्रमिक रहनेछन्।

कम्पनीले आकर्षण इन्टरनेशनल म्यानपावर कम्पनी र लालधनुष म्यानपावर कम्पनीमार्फत चार–चार सय जना श्रमिक भर्ना गर्ने तयारी गरेको छ। श्रमिक भर्ना प्रक्रिया शून्य लागतको सिद्धान्तअनुसार सञ्चालन गरिने बताइएको छ।

श्रमिकहरूलाई मलेसिया पठाउँदा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्नेछ। यसअन्तर्गत राहदानी, बीमा, वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष, हवाई टिकट, काठमाडौंमा बसाइ खर्च तथा घरदेखि काठमाडौंसम्मको यातायात खर्च समेटिएको छ।

यसअघि पनि सोही कम्पनीले नेपालबाट श्रमिक भर्ना गरिसकेको थियो। सन् २०२२ मा ३ सय नेपाली श्रमिक मलेसिया पठाइएको थियो। विगतको कार्यसम्पादन सन्तोषजनक रहेकाले थप श्रमिक भर्ना गरिएको जनाइएको छ।

हाल मलेसिया रोजगारीका लागि आवेदन संकलन तथा अन्तर्वार्ता प्रक्रिया जारी रहेको छ। शून्य लागतमा वैदेशिक रोजगारीको अवसर भएकाले ठूलो संख्यामा श्रमिकको आवेदन परेको छ।

नेपाल र मलेसियाबीच सन् २०१८ मा शून्य लागतमा श्रमिक लैजाने सम्बन्धी द्विपक्षीय श्रम सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार श्रमिकबाट कुनै पनि भर्ना शुल्क लिन नपाइने व्यवस्था छ।