काठमाडौँ । नेपाली बजारमा सुन तथा चाँदीको मूल्य निरन्तर बढ्दै दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ । विश्व बजारमा सुनको मूल्य वृद्धि हुनु र अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै जानु मुख्य कारणका रुपमा देखिएको छ ।
अमेरिकी डलरसँग स्थिर विनिमय दर रहेको नेपाली मुद्रा भारतीय रुपैयाँ कमजोर हुँदै जाँदा अप्रत्यक्ष रुपमा दबाबमा परेको जानकारहरु बताउँछन्। जसका कारण डलर महँगिँदै गएको र सुन आयात खर्चिलो बन्दा घरेलु बजारमा सुनको भाउ तीव्र रुपमा बढेको हो।
नेपाल सुनचाँदी व्यवायीका अनुसार मंगलबारसुनको मूल्य तोलाकै ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ । जुन हालसम्म कै उच्च हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला १०५ रुपैयाँले बढेको छ । सोमबार ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ६ हजार ८ सय ७० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।
ग्रीनल्यान्डलाई लिएर अमेरिका र नाटोबीचको तनाव र विश्वव्यापी वित्तीय र भूराजनीतिक अनिश्चितताका कारण सुनको मूल्य वृद्धि हुन पुगेको हो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिका बजारलाई चिन्तित बनाएको छ । शनिबार ट्रम्पले क्यानडाले चीनसँग सम्झौता गरेमा १०० प्रतिशत भन्सार कर बढाउने चेतावनी दिएका छन् ।
सुन र अन्य बहुमुल्य धातुहरूलाई सुरक्षित लगानीको रूपमा लिइने भएकाले अनिश्चितकालीन समयमा लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन् । बहुमुल्य धातुको मूल्य बढ्नुका कारण उच्च मुद्रास्फीति, कमजोर अमेरिकी डलर, विश्वका केन्द्रीय बैंकहरूले खरिद गर्न थालेको र अमेरिकी केन्द्रिय बैंकले यस वर्ष ब्याजदर कटौती गर्ने आशंका छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार विश्व बजारमै सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपाली बजारमा परेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय आर्थिक अनिश्चितता र व्यापारिक तनाव बढ्दा लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन्।
सुनको मूल्य अत्यधिक बढेपछि गहना खरिदको माग लगभग शून्य भएको व्यवसायीहरुको भनाइ छ । माग नहुँदा बैंकमार्फत सुन खरिद पनि न्यून भएको छ। डलर कमजोर बन्दै जाँदा चीन, भारत, पोल्यान्ड र ब्राजिलजस्ता देशहरूले सुन र चाँदीको मौज्दात बढाइरहेका छन्। सुरक्षित लगानीका रूपमा सुनको माग बढ्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य अझ चुलिँदै गएको जानकारहरु बताउँछन्।
आर्थिकन्यूज