शीर्षकहरू

वैदेशिक व्यापार असन्तुलन गहिरियो, भारत र चीनसँग घाटा बढ्दै

वैदेशिक व्यापार असन्तुलन गहिरियो, भारत र चीनसँग घाटा बढ्दै

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले १५२ वटा मुलुकसँग द्विपक्षीय वैदेशिक व्यापार गरेको छ। यस अवधिमा ३६ मुलुकसँग व्यापार नाफा भए पनि ११६ मुलुकसँग घाटा व्यहोर्नु परेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

साउनदेखि पुससम्म नेपालले कुल १० खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। यसमध्ये ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। समग्रमा ६ महिनामा व्यापार घाटा ७ खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ पुगेको छ।

तथ्यांकले नेपालको वैदेशिक व्यापार संरचना अझै पनि आयातमुखी रहेको संकेत गरेकाे छ । कुल व्यापारमा आयातको हिस्सा करिब ८७ प्रतिशत पुगेको छ, जुन उत्पादन र निर्यात क्षमताको कमजोर अवस्थालाई प्रतिबिम्बित गर्ने सूचक मानिन्छ।

नेपालले व्यापार नाफा कमाएका मुलुकमध्ये डेनमार्क अग्रस्थानमा रहेको छ। डेनमार्कसँग ४१ करोड ८६ लाख रुपैयाँ बराबरको नाफा भएको छ। नेपालले डेनमार्कमा ५१ करोड २ लाख रुपैयाँको निर्यात गर्दा ९ करोड १० लाख रुपैयाँको आयात गरेको देखिन्छ।

डेनमार्कपछि रोमानिया (५ करोड ९१ लाख) र स्वीडेन (३ करोड ३१ लाख रुपैयाँ) सँग व्यापार नाफा भएको छ। यस्तै नाइजेरिया, इराक, नर्वे, अमेरिकन सामोआ, आइसल्याण्ड र सेन्चेल्ससँग पनि नेपालले सीमित मात्रामा भए पनि नाफा कमाएको छ। यी मुलुकहरूसँगको व्यापार मुख्यतः हस्तकला, तयारी कपडा, कृषि तथा सीमित औद्योगिक वस्तुमा केन्द्रित रहेको देखिन्छ। 

द्विपक्षीय व्यापार घाटामा भारत पहिलो स्थानमा छ। ६ महिनामा भारतसँग नेपालले ४ खर्ब १६ अर्ब ७१ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। भारतबाट ५ खर्ब ३२ अर्ब रुपैयाँको आयात हुँदा १ खर्ब १५ अर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको छ।

दोस्रो स्थानमा चीन रहेको छ। चीनसँग १ खर्ब ९५ अर्ब ३६ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। चीनबाट १ खर्ब ९६ अर्ब रुपैयाँको आयात हुँदा नेपालबाट ६४ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको देखिन्छ।

तेस्रो स्थानमा अर्जेन्टिना रहेको छ, जहाँ नेपालले ५४ अर्ब ४३ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। अर्जेन्टिनाबाट ठूलो परिमाणमा खाद्यान्न तथा कच्चा पदार्थ आयात हुँदा निर्यात अत्यन्त न्यून रहेको तथ्यांकले देखाउँछ।

यस्तै युएई, इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, अष्ट्रेलिया, ब्राजिल र ब्रुनाई दारुस्सलामसँग पनि नेपालले अर्बौं रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।

पछिल्ला वर्षहरूमा निर्यात वृद्धिका लागि विभिन्न नीति तथा सहुलियत कार्यक्रम ल्याइए पनि व्यापार घाटाको संरचना उल्लेखनीय रूपमा परिवर्तन हुन सकेको छैन। पेट्रोलियम पदार्थ, सवारीसाधन, मेसिनरी, विद्युतीय उपकरण र कच्चा पदार्थ आयातले व्यापार घाटा बढाइरहेको छ।