शीर्षकहरू

मितेरी डेभलपमेन्ट बैंकको नाफा १२० प्रतिशतले बढ्यो

मितेरी डेभलपमेन्ट बैंकको नाफा १२० प्रतिशतले बढ्यो

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय प्रगति गरेको छ। बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १२०.२६ प्रतिशतले बढेर ५ करोड ७० लाख रुपैयाँ पुगेको छ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्म बैंकले ५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो, जबकि अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा २ करोड ५८ लाख रुपैयाँ मात्र थियो। खुद ब्याज आम्दानी र फि तथा कमिशन आम्दानीमा भएको तीव्र वृद्धिले नाफा बढ्न सहयोग पुगेको बैंकले जनाएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६८.४३ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी झन्डै तीन गुणा (१९९.१२ प्रतिशत) वृद्धि भएको छ। यस्तै, सञ्चालन आम्दानी ७५.८५ प्रतिशत र सञ्चालन मुनाफा १२०.२६ प्रतिशतले बढेको छ।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ १६ पैसा पुगेको छ। यस अवधिमा प्रतिशेयर आम्दानी (ईपीएस) ४.२५ रुपैयाँबाट बढेर ९.३७ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ९८ पैसा र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६४.१० गुणा रहेको छ।

१ अर्ब २१ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोष तथा सञ्चित नाफा ४३ करोड ७९ लाख रुपैयाँ पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकले ८ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।