काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आचार्यले सेवामा रहँदा पदीय मर्यादा विपरीतका कार्य गरी वैध आयको स्रोत पुष्टि हुन नसक्ने गरी ठूलो परिमाणमा सम्पत्ति आर्जन गरेका छन्। उनी २०४८ माघ ६ गतेदेखि २०८० असार ६ गतेसम्म सरकारी सेवामा रहँदा आर्जन गरेको आय–व्ययको विस्तृत परीक्षण गर्दा वैध आम्दानीभन्दा खर्च र लगानी अत्यधिक देखिएको आयोगको निष्कर्ष छ।
जाँच अवधिमा आचार्य तथा उनका एकाघर परिवारका सदस्यहरूको कुल वैध आय ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ देखिएको छ। यसमा तलब, भत्ता, जग्गा तथा सवारी बिक्री, श्रीमतीको पारिश्रमिक, घरबहाल, बैंक ब्याज, कर्जा तथा विभिन्न फर्म–कम्पनीबाट प्राप्त आम्दानी समावेश छन्।
तर सोही अवधिमा आचार्य र उनका परिवारको कुल खर्च तथा लगानी १० करोड २९ लाख ९९ हजार २६ रुपैयाँ पुगेको आयोगले जनाएको छ। जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, बीमा शुल्क, शैक्षिक खर्च, कर्जा भुक्तानी, विभिन्न फर्म–कम्पनीमा लगानी तथा बैंक खातामा मौज्दातसमेत गर्दा खर्च अत्यधिक देखिएको हो।
यसरी कुल वैध आयभन्दा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बढी खर्च भएको र उक्त रकमको स्रोत खुल्न नसकेको भन्दै आयोगले आचार्यले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गरेको छ। आयोगका अनुसार आचार्यले अस्वाभाविक रूपमा उच्च जीवनशैली अपनाएको र सार्वजनिक पदको दुरुपयोग गरी श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति खरिद गरेको प्रमाण भेटिएको छ।
अख्तियारले आचार्य र उनकी श्रीमती सुवेदीविरुद्ध करिब ७ करोड रुपैयाँ बिगो असुलसहित हदैसम्मको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
आर्थिकन्यूज