शीर्षकहरू

गणपति लघुवित्त कुश्मा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गणपति लघुवित्त कुश्मा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कुश्मा, पर्वत । गणपति लघुवित्त वित्तीय संस्थाका कुश्मा शाखाले माघ १३ गते एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष दिनेश श्रेष्ठ प्रमुख अतिथि रहँदा संस्थामा आबद्ध ग्राहक सदस्यहरूलाई वित्तीय शिक्षा र सचेतनासम्बन्धी जानकारी प्रदान गरिएको थियो।

तालिम, अनुपालन तथा प्रवर्तन विभाग प्रमुख प्रभुराज थापाले वित्तीय अनुशासन, पारिवारिक बजेट निर्माण, आम्दानी–खर्च तथा बचत व्यवस्थापन, कर्जाको महत्त्व र प्रयोग, कानुनी अवधारणासहित कालोसूचीमा पर्ने अवस्था लगायतका विषयमा सरल भाषामा जानकारी दिएका थिए। कार्यक्रममा लघुवित्तसँग सम्बन्धित भ्रम र यथार्थबारे सहभागीलाई बुझाउने प्रयास गरिएको थियो।

उक्त कार्यक्रममा शाखा अन्तर्गत उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने तीन जना केन्द्र प्रमुख र कर्जा लिएर व्यवसाय सञ्चालन गर्ने तीन उत्कृष्ट व्यवसायिक ग्राहकलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो। करिब ३० जना ग्राहक सदस्यको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता केन्द्र नं. १८९ कि सदस्य युगमाया गिरीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन शाखा प्रबन्धक गणेश गौतमले गरेका थिए।

यस कार्यक्रमले ग्राहक सदस्यहरूमा वित्तीय सचेतना बढाउने र वित्तीय अनुशासनप्रति जागरुकता फैलाउने लक्ष्य राखेको संस्थाले जनाएको छ।