काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ । सम्मेलनको उद्घाटन पूर्व मन्त्री तथा महासंघका पूर्व अध्यक्ष केशव बडाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले संयुक्त रूपमा गरेका छन ।
उद्घाटन सत्रमा बोल्दै सचिव भुजेलले सहकारी क्षेत्रमा देशको करिब एक तिहाइ जनसंख्याको सहभागिता रहेको उल्लेख गर्दै संविधानले सहकारीलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा स्वीकार गरेको स्मरण गराए । हाल बजारमा सबै सहकारीप्रति चुनौतीपूर्ण धारणा निर्माण हुनु दुःखद रहेको भन्दै उनले त्यसको समाधानका लागि सरकार र सहकारी अभियानबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
“विगतमा जोखिमको सही मूल्याङ्कन नहुँदा केही सहकारी संस्थाहरू समस्यामा परेका रिपोर्ट प्राप्त भएका छन्,” उनले भने, “अब स्वनियमन र अनुगमनमा देखिएका कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नुपर्छ ।”
कार्यक्रमका मुख्य वक्ता तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले प्रविधिमैत्री उद्यममा युवाको नेतृत्व अपरिहार्य रहेको बताए । आजको प्रतिस्पर्धी युगमा सफल हुन प्रविधिको ज्ञान र सीप अनिवार्य रहेको उल्लेख गर्दै उनले युवालाई जागिरे मानसिकताबाट बाहिर निस्केर उद्यमशीलतामा केन्द्रित हुन आग्रह गरे । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीका सिद्धान्तअनुसार युवा र प्रविधिलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।
महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रलाई समेट्ने सहकारी क्षेत्रमा युवा सहभागिता र नेतृत्व अपरिहार्य भएको उल्लेख गर्दै त्यसअनुसारका नीति र विधि निर्माण गरी अगाडि बढ्नुपर्ने बताए । महासंघले अभियानमा खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै उनले युवा–मैत्री सहकारी अभियान निर्माणमा जोड दिए ।
कार्यक्रममा युवा उपसमितिका संयोजक तथा महासंघका सञ्चालक सुमन नेपालले सम्मेलनको प्रमुख उद्देश्य युवा नेतृत्व विकास र आर्थिक सशक्तिकरण रहेको स्पष्ट पारे । सहकारीलाई परम्परागत बचत तथा ऋणमा मात्र सीमित नराखी उत्पादन, उद्यमशीलता र नवप्रवर्तनमा केन्द्रित गर्दै युवा नेतृत्व स्थापित गर्नुपर्ने उनको भनाइ थियो ।
बुधबारसम्म सञ्चालन हुने सम्मेलनमा सातै प्रदेशका युवा सहकारीकर्मी, युवा उद्यमी, नेपाल सरकारका प्रतिनिधि तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ । सम्मेलनको पहिलो दिन ‘आर्थिक सशक्तिकरण र उद्यममा युवाको नेतृत्व’ विषयमा प्यानल छलफल सम्पन्न भयो । छलफलको मोडरेसन युएनडीपीका पूर्व आवासीय संयोजक डा. विश्व पराजुलीले गरेका थिए भने प्यानलिस्टका रूपमा राष्ट्रिय सहकारी बैंकका सिइओ बद्री गुरागाईं, फिनटेक एलायन्सका उपाध्यक्ष देवेन्द्र खड्का, नेफ्स्कूनका सहायक प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिना र एग्री नेपालकी सिइओ सुनिता नेमाफुकी सहभागी थिए । प्यानलिस्टहरूले युवालाई उद्यममा आकर्षित गर्न राज्यले अनुकूल वातावरण निर्माण गर्नुपर्ने र युवा सहभागिता बढे मात्र वास्तविक आर्थिक सशक्तिकरण सम्भव हुनेमा जोड दिए ।
त्यसैगरी, विभिन्न सफल युवा उद्यमी तथा सहकारीका सफलताका कथाहरू पनि प्रस्तुत गरिएका थिए । उक्त सत्रको मोडरेसन साना किसान विकास लघुवित्त वित्तीय संस्थाका डीसीओ झलेन्द्र भट्टराईले गरेका थिए । छलफलमा चेतना कृषि तथा पशुपन्छी फार्म धादिङका युद्धप्रसाद न्यौपाने, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.का मनिष कोइराला, मेची बहुउद्देश्यीय सहकारी संस्थाका सिइओ खोम बगाले, केन्द्रीय चिया सहकारी संघ लि.का चन्द्रबहादुर लोक्तान, उद्यमी घरका दीपक कार्की, कठार पर्यटन सहकारीकी माया चौधरी, साना किसान कृषि सहकारी कपिलवस्तुका काशीराम भट्टराई तथा साहारा साकोस झापाका मातृका सुवेदी सहभागी थिए ।
आर्थिकन्यूज