काठमाडौँ । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ३३ लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले कुल निष्कासनमध्ये सामूहिक लगानी कोषका लागि २ लाख कित्ता र कर्मचारीहरूका लागि ८० हजार कित्ता सेयर सुरक्षित गरेको छ। बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध हुनेछ।
आईपीओ निष्कासन छिटोमा माघ २६ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन ८ गते बन्द हुने कम्पनीले जनाएको छ। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
नेपाल धितोपत्र बोर्डले होटल फरेष्ट इन लिमिटेडलाई प्रतिशत १०० रुपैयाँ अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको थियो।
सो अनुमति अनुसार कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि गत पुस २४ गतेदेखि माघ ८ गतेसम्म आईपीओ निष्कासन गरिसकेको छ।
पहिलो चरणको निष्कासन सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो।
होटल फरेष्ट इनमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्का प्रमुख लगानीकर्ता रहेका छन्।
बुढानीलकण्ठ क्षेत्रको प्राकृतिक वातावरणमा अवस्थित यस होटलले लक्जरी सुविधा र प्रकृतिको संयोजन प्रदान गर्ने कम्पनीको दाबी छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा होटल तथा पर्यटन क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको सन्दर्भमा होटल फरेष्ट इनको आईपीओलाई लगानीकर्ताले चासोका साथ हेरेका छन्।
कम्पनीले आईपीओबाट संकलित रकम ऋण भुक्तानी र होटलको क्षमता विस्तार मा प्रयोग गर्ने योजना बनाएको छ।
आर्थिकन्यूज