शीर्षकहरू

ब्याज आम्दानी घट्दासमेत नेपाल बैंकको खुद नाफामा १८३ प्रतिशतले उछाल

प्रतिशेयर आम्दानीमा सुधार​​​​​​​, वितरणयोग्य नाफा अझै ऋणात्मक

ब्याज आम्दानी घट्दासमेत नेपाल बैंकको खुद नाफामा १८३ प्रतिशतले उछाल

काठमाडौँ । खुद ब्याज आम्दानीमा गिरावट आए पनि इम्पेरमेन्ट चार्जमा आएको भारी कमीका कारण नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उल्लेख्य नाफा वृद्धि गरेको छ। बैंकले पहिलो ६ महिनामा १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाउँदै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३ प्रतिशतको उछाल देखाएको हो।

गत आर्थिक वर्षको यही अवधिमा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद नाफामा देखिएको यो तीव्र सुधारको मुख्य कारण भने इम्पेरमेन्ट चार्जमा आएको ठूलो गिरावट हो।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४७ करोड ९९ लाख रुपैयाँमा झरेको छ।

ब्याज तथा गैर–ब्याज आम्दानी घट्दा पनि बैंकको नाफा उल्लेख्य बढ्नुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थापन खर्च (इम्पेरमेन्ट चार्ज) मा आएको तीव्र कमी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी पनि १७.१६ प्रतिशतले घटेर ४४ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

यसै कारण बैंकको सञ्चालन मुनाफा ३९४.६४ प्रतिशतले बढेर २ अर्ब ६ करोड १५ लाख रुपैयाँ पुगेको छ। यद्यपि, कुल सञ्चालन आम्दानी भने १.५९ प्रतिशतले घटेर ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँमा सीमित रहेको छ।

प्रतिशेयर आम्दानीमा सुधार, वितरणयोग्य नाफा अझै ऋणात्मक

पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यसैगरी, वितरणयोग्य प्रतिशेयर आम्दानी पनि १२ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको देखिन्छ। यसले हालको नाफा सुधार लाभांश क्षमतामा भने तत्काल प्रतिफल दिन नसक्ने संकेत गर्छ।

नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ७६ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात १३.५७ गुणा रहेको छ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष ४.१२ प्रतिशतले बढेर २३ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ पुगेको छ।  समीक्षा अवधिमा बैंकको निक्षेप ९.८७ प्रतिशतले बढेर ३ खर्ब ६४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४.४४ प्रतिशतले बढेर २ खर्ब ३० अर्ब ३० करोड रुपैयाँ नाघेको छ।