शीर्षकहरू

एभरेष्ट बैंकको नाफा २ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो २ अर्ब ११ करोड, वितरणयोग्य ३ अर्ब ३४ करोड

एभरेष्ट बैंकको नाफा २ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो २ अर्ब ११ करोड, वितरणयोग्य ३ अर्ब ३४ करोड

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ब्याज तथा शुल्क आम्दानीमा सुधार देखाउँदै खुद नाफा सामान्य रूपमा बढाएको छ। एभरेष्ट बैंकले ब्याज र शुल्क आम्दानीमा सुधार देखाए पनि इम्पेरमेन्ट चार्ज बढेकाले नाफा वृद्धिदर सीमित बनेको देखिन्छ।

बैंकले पुस मसान्तसम्म २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्म बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानीमा सुधार आउनुले नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेर ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा ४ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो।

यस्तै, खुद शुल्क तथा कमिशन आम्दानीमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आवको सोही अवधिमा ७६ करोड ५० लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ, जुन २०.३८ प्रतिशतको वृद्धि हो। यसका कारण बैंकको कुल सञ्चालन आम्दानी पनि ९.७३ प्रतिशतले बढेको छ।

तर, इम्पेरमेन्ट चार्जमा वृद्धि हुँदा नाफा वृद्धिदर सीमित बनेको देखिन्छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ। इम्पेरमेन्ट खर्च बढे पनि बैंकको सञ्चालन मुनाफा भने २.०६ प्रतिशतले वृद्धि भएको छ।

बैंकको वितरणयोग्य मुनाफा २३.०४ प्रतिशतले बढेर ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ पुगेको छ। यससँगै लाभांश क्षमता पनि ३०.५८ प्रतिशतबाट बढेर ३१.९३ प्रतिशत कायम भएको छ, जसले आगामी दिनमा लाभांश वितरणको सम्भावना सुदृढ भएको संकेत गर्छ।

यद्यपि, नाफा बढेसँगै पनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ। समीक्षा अवधिमा ईपीएस १ रुपैयाँ २० पैसाले घटेर ३० रुपैयाँ ८६ पैसामा झरेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य–आम्दानी (पीई) अनुपात २१.३९ गुणा कायम भएको छ।

वित्तीय सूचकका हिसाबले बैंकको खराब कर्जा अनुपात ०.६८ प्रतिशत, कस्ट अफ फण्ड ३.४५ प्रतिशत र रिटर्न अन इक्विटी (आरओई) १३.१९ प्रतिशत रहेको छ, जुन समग्रमा सन्तोषजनक मानिन्छ।

१३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।