शीर्षकहरू

इम्पेयरमेन्ट चार्ज बढ्दा सिटिजन्स बैंकको नाफा ४५ प्रतिशतले घट्यो ,खराब कर्जा ७ प्रतिशत नजिक

इम्पेयरमेन्ट चार्ज बढ्दा सिटिजन्स बैंकको नाफा ४५ प्रतिशतले घट्यो ,खराब कर्जा ७ प्रतिशत नजिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४५ प्रतिशतले घट्दै ३५ करोड रुपैयाँमा सीमित भएको छ। 

बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ३८ करोड रुपैयाँबाट बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने खराब कर्जा अनुपात ४.८५ प्रतिशतबाट उक्लेर ६.८६ प्रतिशतमा पुगेको छ। जसका कारण बैंकको नाफामा उल्लेख्य दबाब परेको देखिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५.८ प्रतिशतले घटेर ३५ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि खुद शुल्क तथा कमिसन आम्दानीमा तीव्र गिरावट र इम्पेयरमेन्ट चार्ज उल्लेख्य बढेकाले बैंकको नाफा घट्न पुगेको हो ।

पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २.२७ प्रतिशतले बढेर ३ अर्ब १४ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४.६८ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । तर, खुद शुल्क तथा कमिसन आम्दानी भने ५७.६८ प्रतिशतले घटेर २७ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ, जसका कारण लाभांश वितरण क्षमता कमजोर देखिएको छ । यसैगरी, सञ्चालन नाफा ४४.६८ प्रतिशतले घटेर ५० करोड ४१ लाख रुपैयाँमा झरेको छ ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ८.९६ रुपैयाँबाट घटेर ४.६३ रुपैयाँमा झरेको छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४१.६८ गुणा कायम भएको छ ।

पुस मसान्तसम्म बैंकले २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८२.६६ प्रतिशत र आधार दर ५.६२ प्रतिशत कायम रहेको छ ।

चुक्ता पूँजी १५ अर्ब ५० करोड रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा ८ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ।