काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम अत्यधिक बढेकाले तरलता व्यवस्थापनका लागि राष्ट्र बैंक सक्रिय भएको हो।
यसअघि दीर्घकालीन तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले पछिल्ला दुई सातामा ९ वटा ऋणपत्र जारी गरी एक वर्षका लागि करिब २ खर्ब रुपैयाँ बजारबाट झिकिसकेको थियो। ऋणपत्र जारीपछि केही समय निक्षेप संकलन उपकरण प्रयोग नगरिएकोमा अब पुनः ६३ दिनका लागि २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको हो।
निक्षेप संकलनमा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन्। घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी रकम बोलकबोल गर्न सकिनेछ। यो उपकरण ब्याजदरमा आधारित हुने र बहुब्याजदरमा समेत बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न मिल्नेछ।
राष्ट्र बैंकका तथ्यांकअनुसार बाह्य क्षेत्रका सूचक सकारात्मक देखिएका छन्। विदेशी मुद्रा सञ्चिति करिब २६ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ भने शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब रुपैयाँले बचतमा छ। रेमिट्यान्स आप्रवाह पनि वार्षिक ३१ प्रतिशतले बढेको छ।
तर आन्तरिक सूचक भने कमजोर देखिन्छन्। ब्याजदर न्यून हुँदा पनि कर्जा प्रवाह बढ्न सकेको छैन र बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ। नयाँ उद्योग, व्यवसाय र निजी लगानीमा अपेक्षित उत्साह नदेखिँदा निजी क्षेत्रको आत्मविश्वास कमजोर रहेको अर्थविद्हरूको भनाइ छ।
अर्थविद्हरूका अनुसार रेमिट्यान्स उच्च दरले बढिरहे पनि आयात र कर्जा माग सोही अनुपातमा नबढ्दा अधिक तरलताको समस्या गहिरिँदै गएको हो। ब्याजदर थप घटाएर पनि कर्जा विस्तार हुने अवस्था नरहेकाले अर्थतन्त्र तरलतामा अड्किएको उनीहरूको विश्लेषण छ।
अधिक तरलताको असर अहिले ऋणीभन्दा बढी निक्षेपकर्तामा परेको बैंकहरू बताउँछन्। तरलता व्यवस्थापन र निजी क्षेत्रको आत्मविश्वास फर्काउन सरकार र केन्द्रीय बैंकले समन्वय गर्दै सक्रिय भूमिका खेल्नुपर्ने विज्ञहरूको सुझाव छ।
आर्थिकन्यूज