काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.०५ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानीमा गिरावट र इम्पेरमेन्ट चार्जमा उल्लेख्य वृद्धि भएपछि बैंकको नाफा दबाबमा परेको हो ।
चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्म बैंकले १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख रुपैयाँमा झरेको छ । यद्यपि, खुद फि तथा कमिशन आम्दानी भने ८.६६ प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशतले घटेर ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ ।
इम्पेरमेन्ट चार्ज १ अर्ब ७७ करोड २५ लाख रुपैयाँबाट बढेर ३ अर्ब ९ करोड ४६ लाख रुपैयाँ पुगेपछि सञ्चालन नाफा ४०.५९ प्रतिशतले घटेर २ अर्ब ३३ करोड ८७ लाख रुपैयाँमा झरेको छ ।
बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ६२ करोड १० लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ ।
नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । पुस मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी रुपैयाँ ४५ पैसामा सीमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात २०.२० गुणा रहेको छ ।
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३२ अर्ब ३४ करोड २० लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्म बैंकले ५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
आर्थिकन्यूज