शीर्षकहरू

“बालेन शाह” मिथकको नाङ्गो यथार्थ

“बालेन शाह” मिथकको नाङ्गो यथार्थ

सुनिता आचार्य

नेपाली राजनीतिक रङ्गमन्चमा बालेन शाहको उदय केवल ‘र्‍यापरबाट मेयर’ बनेको एउटा रोचक कथा मात्र थिएन। यसलाई समकालीन नेपालको राजनीतिमा एउटा निर्णायक मोडका रूपमा हेरिंदैथियो। सम्पूर्ण रुपमा जर्जर र आम जनताबाट परितत्य नेतृत्व आपसी लेनदेनमा आधारित राजनीतिबाट गुजारा गरिरहेको अवस्था थियो। कमिसनलाई संस्कारमा रुपान्तरण गरिएको अवस्थाबाट आजित पुस्ताका लागि बालेन शाहले आशाको नयाँ किरण छरेका थिए। उनको त्यस्तो छबी निर्माण गर्नका लागि बालेन भ्रष्टाचार बिरोधी हुन् भन्ने भाष्य स्थापित गरियो । उनलाई  पटक–पटक असफल भइसकेको प्रणालीलाई सच्याउने विकल्पका रूपमा त्यसरी उभ्याइयो कि मुलुकभर एकैपटक पुस्तान्तरण समेत हुँदैछ भन्ने संचार प्रवाह भयो। उनको उदयको तरंग काठमाडौँ महानगरपालिकाको सीमाभन्दा धेरै परसम्म पुगेको थियो। जसले नैतिक पुनर्जागरणको आशा बोकेका आम नेपालीलाई केही हदसम्म सान्त्वना दिंदै थियो।

तर, त्यो आशा अहिले गम्भीर दबाबमा छ। बालेनसँग जोडिएर पछिल्ला दिनहरुमा बाहिर आएका तथ्यहरू सामान्य नैतिक बिचलन वा प्रशासनिक त्रुटि मात्र होइनन् भन्न सकिने आधारहरु एक पछी अर्को सार्वजनिक भईरहेका छन् । उनको लोकप्रियता टिकाउन तयार गरिएका धेरै मिथकका आधारशिला महँगो गाडीको सवार र त्यसको प्रायोजनकर्ताको कुण्डलीले एकै झड्कामा ढालिदिएको छ । अहिले विवादको केन्द्रमा एक विलासी ल्यान्ड रोभर डिफेन्डर छ, जसको मूल्य करिब ८ करोड रुपैयाँ भनिएको छ। चार महिना अघि मात्रै वीरगञ्ज भन्सार हुँदै नेपाल भित्रिएको त्यो  गाडी त्रिमूर्ति इन्डस्ट्रिज प्रा.लि.को नाममा छ। जसले उनले सावधानीपूर्वक निर्माण गरेको सादगी र भुईबाट उठेको नेतृत्वको छविलाई नराम्ररी धुमिल बनाएको छ।

त्रिमूर्ति इन्डस्ट्रिज नितेश मालपानीको स्वामित्वमा छ, जो कमल किशोर मालपानीका छोरा हुन्। मालपानी परिवारको व्यापारिक साम्राज्य ‘करेन्ट’ ब्रान्डका चाउचाउ, चिप्स र चिजबलदेखि ‘भोला’ गुट्खासम्म फैलिएको छ। उल्लेखित बस्तुहरुको उत्पादक कम्पनी र बालेन शाह बीचको सम्बन्ध कुनै संयोग मात्र भन्न मिल्ने अवस्था छैन। बालेन शाह काठमाडौँको हुँदा गुट्खा बिक्रीविरुद्ध कठोर कारबाहीका लागि चिनिन्छ। उनले अखाद्य बस्तु पाइएको भन्दै चर्चित चाउचाउ वाईवाईलाई जरिवाना समेत गरेका थिए। उनको कार्यकालमा काठमाडौँमा साना पसलेहरूलाई गुट्खा बिक्री गर्दा जरिवाना गरियो, दुर्व्यवहार गरियो। सार्वजनिक स्वास्थ्य र शहरी अनुशासनको नाममा जे जे गर्न मिल्थ्यो त्यो गरियो। तर, आज उनि देशकै प्रमुख गुट्खा उद्योगपतिबाट लाभ लिएको आरोपमा छन्। धेरै बालबालिका र युवाहरुको स्वास्थ्यमा प्रतिकुल असर पार्ने चाउचाउको बिक्रीबाट प्राप्त लाभको उपयोगमा रमाइरहेका छन् । त्यसैले स्वाभाविक रुपमा प्रश्न उठेको छ- के यो पाखण्ड होइन ?  

नैतिकताको बिषय बाहेक अझ गहिरिएर मुद्दालाई हेर्दा कानुनी पक्ष अझ भयावह देखिन्छ । मानिसहरु भन्दैछन् अनुसन्धानात्मक प्रतिवेदन र औपचारिक उजुरीहरूले कमल किशोर मालपानीको नागरिकतामाथि गम्भीर प्रश्न उठाएका छन्। आरोप अनुसार उनले सप्तरीको  नक्कली अभिलेखका आधारमा रुपन्देहीबाट नेपाली नागरिकता लिएका हुन सक्छन्। यसले दोहोरो नागरिकता र कागजात जालसाजीको गम्भीर आशंका जन्माउँछ। यी प्राविधिक विषय मात्र होइनन्, नागरिकता जालसाजी राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग प्रत्यक्ष जोडिएको गम्भीर अपराध हो।

बारम्बार राष्ट्रवादी प्रतीक ओढ्ने, ‘ग्रेटर नेपाल’ नक्सादेखि भारतीय हस्तक्षेपविरुद्धको कडा भाषासम्म प्रयोग गर्ने नेताका लागि यस्तो सम्बन्ध राजनीतिक रूपमा विषालु हुन्छ। यदि मालपानीविरुद्धका आरोपहरू सही ठहरिए भने बालेन शाहको राष्ट्रवाद आफ्नै विरोधाभासमा ढल्छ। सार्वभौमिकताको कुरा गर्ने तर नक्कली नागरिकता, कर छली र अन्तःशुल्क ठगीका आरोप खेपिरहेका व्यक्तिमा आश्रित हुने नेतालाई एउटा सरल प्रश्न गर्ने पर्ने हुन्छ- तपाइको राष्ट्रवाद सिद्धान्त हो कि केवल नारा ?

बालेन शाहले आफूलाई दबाब र बाह्य प्रभावविरुद्ध उभिन सक्ने दुर्लभ नेताका रूपमा प्रस्तुत गर्दै ठूलो जनसमर्थन बनाएका छन्। यदि उनका सवारीसाधन, संगठनात्मक विस्तारमा अटाउने व्यक्ति वा राजनीतिक आकांक्षा उनले सार्वजनिक रूपमा आलोचना गर्ने शक्तिसँग जोडिएका हितबाट पोषित भइरहेका छन् भने, उनको ‘हस्तक्षेपविरोधी’ छबी आस्थाभन्दा अभिनय ठहर्न सक्छ। ‘नयाँ राजनीति’ पुरानै राजनीतिसँग मिल्न थाल्छ, फरक केवल शब्दमा मात्र रहन्छ।

झनै पीडादायी पक्ष भनेको पुस्तान्तरको लागि भएको आन्दोलनको अन्तरात्मा ठानिएका व्यक्तिहरूको भूमिकामा आएको प्रश्न हो। भ्रष्टाचारविरोधी जेन–जी प्रतिरोधको प्रतीक मानिएका सुदन गुरुङ नै अहिले बालेन शाह र मालपानी बीच सेतु बनेको आरोप खेपिरहेका छन्। उनका साथमा नेपालको पुरानो राजनीतिक नेतृत्वसँग गहिरो हिमचिम र पहुँच भएका कुख्यात बिचौलिया दीपक भट्टको नाम आउँछ। यो गौण विषय हुँदै होइन। जेन–जी आन्दोलन दलाल संस्कृति, अपारदर्शी सम्झौता र पर्दा पछाडिका खेलहरूको अस्वीकारमा उभिएको थियो। यदि त्यसका अगुवा अनुहारहरू नै त्यही संरचना पुनःनिर्माण गर्दैछन् भने यहाँ घुसपैठ होइन, रूपान्तरण भएको हो। यसको अर्थ हो पुरा दल त पराजित हुँदैछन् तर तिनलाई बिगार्ने र बद्नाम गराउने दलालहरू पराजित भएका छैनन्। उनीहरू पुनःब्रान्ड भएका छन्। त्यसमा नयाँ भनिएकाहरु अन्तरघुलित छन् ।

त्यसो त राजनीतिमा समयको ठूलो अर्थ हुन्छ। यो विवाद त्यतिबेला सतहमा आएको छ जब बालेन शाह स्थानीय लोकप्रियतालाई आमनिर्वाचनअघिको राष्ट्रिय महत्वाकांक्षामा बदल्न खोजिरहेका छन्। अहिलेसम्मको उनको प्रतिक्रियाबिहीन अवस्था र मौनताले नै धेरै कुरा बताइरहेको छ। आरोपहरूलाई स्पष्ट र प्रमाणसहित सम्बोधन गर्नुको सट्टा, उनी र उनका समर्थकहरू गलत तरिकाले बचाउतर्फ लागेका छन्। आलोचकहरूलाई पुराना दलका एजेन्ट भन्दैछन्। प्रश्नहरूलाई षड्यन्त्रका रूपमा चित्रित गर्दैछन् । जवाफदेहितालाई प्रगतिविरोधी ठहर गरेर खारेज गर्ने प्रयासमा छन्। यो सुधारको भाषा र तरिका हुँदै होइन। यो नेपालले यसअघी नै तिरस्कार गरेको त्यस्तो राजनीतिक पात्रको स्वभाव हो जसलाई अब हरेक नेपाली भुल्न चाहन्छन् । बालेनले बुझ्नु जरुरि छ, साँचो सुधारकले भीडलाई ढाल बनाउँदैन। उसले आफ्नो हिसाबकिताब खोल्छ र सामाजिक परिक्षणको सामना गर्छ।

यस घटनाको प्रभाव बालेन शाहमा मात्र सीमित छैन। यसले नयाँ राजनीतिक शक्तिप्रतिको विश्वास नै क्षय गराउने खतरा बोकेको छ। दलगत कार्टेलको विकल्प अन्ततः भेटियो भन्ने विश्वास गरेका हजारौँ युवा मतदाताले आज परिवर्तनको प्रतीकलाई विलासी गाडी, विवादित नागरिकता र परिचित बिचौलियासँग जोडिएको देखिरहेका छन्। यदि पुनर्जागरणको वाचा तम्बाकू बिक्री गरेको पैसाले सिंगारिएको र पुरानै दलालहरूले चम्किलो बनाएको रहेछ भने त्यसले उत्पन्न गराउने निराशा सामान्य हुने छैन।

अन्ततः यो प्रकरणले एउटा तितो सत्य उजागर गर्छ। जब संस्थागत नैतिकताको सट्टा करिश्मा हाबी हुन्छ, ‘नयाँ’ भनिएको राजनीति कति सजिलै अपराधी र दलालको कब्जामा पर्न सक्छ भन्ने प्रष्ट्र भएको छ। सत्तातर्फको यात्रामा सम्झौता अपरिहार्य हुन्छ। त्यो शासनको यथार्थ हो। तर, व्यवहारिकता र नैतिक आत्मसमर्पणबीच स्पष्ट रेखा हुन्छ भन्ने कुरा कम्तिमा पनि राजनीतिक मन्चमा उत्रिएकाले थाह पाएको हुनुपर्छ। गम्भीर ठगीका आरोप खेपिरहेका व्यक्तिहरूसँग उभिएर र आफ्नै नीतिगत अडानसँग मेल नखाने सुविधा स्वीकार गरेर बालेन शाहले शिखरमा पुर्‍याएको आफ्नो नैतिक तस्बिरलाई चिरा पारेका छन्।

नेपाललाई परिवर्तनको भाषा बोल्ने तर निरन्तरताको सुविधा भोग्ने अर्को नेता चाहिएको छैन। यस्ता पात्रको कमी यस देशमा कहिल्यै थिएन। ‘ग्रेटर नेपाल’ को सपना नक्कली कागजात, अपारदर्शी संरक्षण र उपहारस्वरूप दिइएका विलासी एसयूभीको जगमा उभिन सक्दैन। मतदाताले अब गर्ने निर्णय बालेन शाह कति मुखर वा कार्यकुशल छन् भन्नेमा सीमित छैन। प्रश्न यो हो कि उनको राजनीतिले त्यही पुरानो प्रणालीलाई निरन्तरता दिन्छ वा त्यसको चंगुलमा नपरी आम नागरिकबाट गरिने हरेक जाँचको सामना गर्न सक्छ ? जे होस्, अहिलेलाई यति भन्नै पर्ने हुन्छ  आम मानिसले आफ्नो घरको भित्तामा सजाउनु अघि नै ‘बालेनको तस्बिरमा’ दाग लागिसकेको छ । सुधारको ऐनामा चिरा परिसकेको छ । कुनै पनि बनावटी नाराले त्यो प्रतिबिम्ब फेरि सजिलै सच्याउन सक्दैन।