काठमाडौं । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यसहित विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको एघारौँ संस्करण यही माघ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
राष्ट्रको पहिलो र एक मात्र निर्माण क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनीका रूपमा स्थापित नेपाल बिल्डकनको यस संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरूको सहभागिता रहनेछ। प्रदर्शनीमा २०० भन्दा बढी स्टलहरू रहनेछन्, जहाँ सहभागी व्यवसायी तथा उद्यमीहरूले आफ्ना वस्तु तथा सेवाहरू उपभोक्तामाझ प्रदर्शन गर्नेछन्।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. ले संयुक्त रूपमा विगत ११ वर्षदेखि हरेक वर्ष आयोजना गर्दै आएको यो प्रदर्शनीले नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजकको दाबी छ।
प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामग्री तथा प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने अवसर सिर्जना हुनुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रयोग भइरहेका नवीनतम प्रविधि, सेवा तथा सामग्रीहरू नेपाल भित्र्याउने प्लेटफर्मका रूपमा पनि नेपाल बिल्डकन स्थापित हुँदै आएको छ।
प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ फिटिङ्स, कन्सट्रक्सन केमिकल, पीभीसी तथा युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिललगायत निर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सामग्री तथा सेवाहरू अवलोकन गर्न सकिनेछ।
निर्माण क्षेत्रमा आवद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक तथा सेवाप्रदायकलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यले आयोजना गरिने यस प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनी, व्यवसायी, उत्पादक, डिजाईनर, इन्जिनियर, आर्किटेक्ट, निर्माण व्यवसायीका साथै निजी आवास, व्यापारिक कम्प्लेक्स तथा व्यवसायिक भवन निर्माण गर्न चाहने व्यक्ति तथा संस्थाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज