काठमाडौँ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन ४२.५८ अंकले घटेको नेप्से आज ५.३८ अंकले बढेर २,७३१.८९ विन्दुमा पुगेको छ।
तर, नेप्से परिसूचक बढ्दा पनि कारोबार रकम घटेको देखिएको छ। बुधबार ३३४ कम्पनीका २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँमा कारोबार भएका छन्। अघिल्लो दिन ३३३ कम्पनीका ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरमा कारोबार भएको थियो।
आज बाणिज्य बैंक, लगानी, जीवन बीमा, निर्जीवन बीमा र माइक्रोफाइनान्स उपसमूहको परिसूचक घटेको छ भने अन्य सबै कम्पनीको सेयर मूल्य बढेको छ। फाइनान्स उपसमूहको सेयर सर्वाधिक १.२४ प्रतिशतले वृद्धि भएको छ।
आज १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले बढेको छ। बैंकिङ्ग, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्यतया घटेको छ।
यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीका शेयर सकारात्मक सर्किटमा रहे। त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.५ प्रतिशतले बढेको छ भने पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
कारोबार रकमको आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको शेयर ८३ करोड ५७ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ। राधी विद्युत कम्पनीको कारोबार रकम ५४ करोड रुपैयाँ नाघेको छ भने एसवाई प्यानल नेपालको करिब ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ।
आर्थिकन्यूज