शीर्षकहरू

दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ सम्पन्न, ६ बुँदे निष्कर्ष जारी

दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ सम्पन्न, ६ बुँदे निष्कर्ष जारी

काठमाडाैं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न “दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन–२०८२” सहकारी अभियानलाई आधुनिक, प्रविधिमैत्री र युवाकेन्द्रित बनाउने स्पष्ट अठोटका साथ ६ बुँदे संकल्प जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन २०८२ माघ १३ र १४ गते ललितपुरमा भएको हो । 

देशभरका युवा सहकारीकर्मी, प्रविधि विज्ञ, नीति निर्माता, सरकारी, निजी, गैरसरकारी तथा अन्य सरोकारवालाहरूको व्यापक सहभागितामा सम्पन्न सम्मेलनमा सहकारी क्षेत्रमा युवाको नेतृत्व र प्रविधिको भूमिकाबारे घनीभूत छलफल भएको थियो। सम्मेलनबाट प्राप्त निष्कर्ष र संकल्प सार्वजनिक गर्दै राष्ट्रिय सहकारी महासंघका कार्यवहाक अध्यक्ष रमेश पोखरेलले सहकारी क्षेत्रको रूपान्तरणका लागि युवा नेतृत्व र प्रविधिको समन्वय अब विकल्प नभई आवश्यकता भएको बताए । 

सम्मेलनले जारी गरेको ६ बुँदे संकल्पअनुसार सहकारी संघ संस्थाहरूको नीति निर्माण तथा निर्णय प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न संस्थागत नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ। साथै, सहकारीलाई पारदर्शी, दिगो र सदस्य–मैत्री बनाउन डिजिटल भुक्तानी प्रणाली, डेटा व्यवस्थापन, फिनटेक, एग्रिटेक लगायतका आधुनिक प्रविधिहरूको पूर्ण अवलम्बन गर्दै प्लेटफर्म–आधारित सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार, जनशक्ति र नीतिगत सुधारमा जोड दिइने उल्लेख गरिएको छ । 

युवामैत्री नीति, प्रविधि प्रयोगमैत्री कानुन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न सरकार, नियामक निकाय र सहकारी अभियानबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष सम्मेलनले निकालेको छ। नियमन प्रक्रियालाई सरल र प्रविधिमैत्री बनाउने प्रतिबद्धता समेत संकल्पमा समावेश गरिएको छ ।

युवालाई प्रविधि र उद्यमशीलतामा दक्ष बनाउन सरकारी, निजी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा देशव्यापी तालिम, मेन्टरशिप, अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र विस्तार गर्ने लक्ष्य लिइएको छ। यसका लागि केन्द्रीय तहमा अन्तर्राष्ट्रियस्तरको र प्रदेश तहमा राष्ट्रियस्तरको प्रविधियुक्त तालिम केन्द्र स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।

सहकारीमार्फत देशभर युवा स्वरोजगार सिर्जना गर्न र स्टार्टअप व्यवसायमा युवाको आकर्षण बढाउन सहकारी संघ संस्थाहरूले वित्तीय लगानी, प्राविधिक शिक्षा तथा व्यावसायिक ‘सपोर्ट सिस्टम’ प्रदान गर्ने ठोस संयन्त्र र नीति निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। साथै, उदाहरणीय कार्य गर्ने युवा उद्यमीहरूलाई प्रोत्साहन गर्दै उत्पादनको बजारीकरणका लागि सहकारी नेटवर्कमार्फत एकीकृत ‘ब्रान्डिङ’ र साझा बजार केन्द्र निर्माण गर्ने लक्ष्य लिइएको छ । 

सम्मेलनको समापन कार्यक्रममा महासंघका अध्यक्ष पोखरेलले सम्मेलनमा उठेका युवासम्बन्धी मुद्दा र सुझावहरूलाई सम्बन्धित निकायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा महासंघका पूर्व अध्यक्षहरू केशव बडाल, दिपकप्रकाश बाँस्कोटा तथा निवर्तमान अध्यक्ष मिनराज कँडेलले सम्मेलन प्रभावकारी र समयसापेक्ष भएको धारणा राख्नुभएको थियो । सम्मेलनको अन्तिम दिन विभिन्न महत्वपूर्ण प्यानल छलफलहरू सम्पन्न भएका थिए।

‘डिजिटल रूपान्तरणमा प्रविधि र युवा’ विषयक प्यानल छलफलको मोडरेसन व्यापार वृद्धि विकल्पकी सिइओ श्रद्धा शाक्यले गरेकी थिइन । उक्त छलफलमा खल्तीका फाउन्डर अमित अग्रवाल, एइसीका सिइओ दिपेन्द्र जोशी, कनेक्ट किसानकी सिइओ इ. संजिता लामिछाने र चन्दागिरी साकोसका सिइओ कृष्णकुमार श्रेष्ठ प्यानलिस्टका रूपमा सहभागी थिए ।

त्यसैगरी ‘युवामैत्री अर्थतन्त्र निर्माणमा राष्ट्रिय दृष्टिकोण’ विषयक प्यानल छलफलको मोडरेसन महासंघका सञ्चालक परितोष पौड्यालले गरेका थिए । उक्त प्यानलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, सहकारी विभागका रजिष्ट्रार सुशील ढकाल तथा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले आफ्ना धारणा राखेका थिए । सम्मेलनले सहकारी क्षेत्रको भविष्य युवाको नेतृत्व र प्रविधिको प्रभावकारी प्रयोगमै निर्भर रहेको सन्देश प्रवाह गर्दै राष्ट्रिय सहकारी अभियानलाई नयाँ दिशातर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।