शीर्षकहरू

च्याउ उत्पादन गर्दै आएको ओएन बायोटेकको आईपीओ जारी हुँदै

बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

च्याउ उत्पादन गर्दै आएको ओएन बायोटेकको आईपीओ जारी हुँदै

काठमाडौं । ओ.एन. बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले ३० लाख कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्ने तयारी गरेको हो।

यससम्बन्धी सम्झौतामा मिति २०८२ माघ १४ गते बुधबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित कार्यक्रममा दुवै पक्षबीच हस्ताक्षर भएको छ। सम्झौतामा ओ.एन. बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडका तर्फबाट अख्तियारप्राप्त सञ्चालक अध्यक्ष चुन्न प्रसाद शर्मा र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका हुन्।

कम्पनीले कृषि उत्पादनपछि खेर जाने पराल, भुस, उखुको बगास, तोरीको पिना लगायतका सहायक सामग्री प्रयोग गरी ताजा च्याउ उत्पादन गर्दै आएको छ। साथै, गहुँ, जुनेलो र कोदो प्रयोग गरी च्याउका विभिन्न बीउ उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। ताजा च्याउको बजारीकरणसँगै अत्याधुनिक प्रविधिबाट ड्राइ मसरुम उत्पादन गरिरहेको कम्पनीले आगामी दिनमा क्यान मसरुम प्लान्ट सञ्चालन गर्ने लक्ष्य लिएको छ।

च्याउसँगै कम्पनीले मौसमी तरकारी उत्पादन तथा बजारीकरण, किसानका लागि कम्पोष्ट मल उपलब्ध गराउने र प्राङ्गारिक मल उत्पादन तथा बिक्री वितरण गर्ने योजना अघि बढाइरहेको छ। च्याउ उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने र उत्पादित च्याउ विदेश निर्यात गर्ने उद्देश्यका साथ कम्पनीले गोब्रे र कन्ये च्याउ उत्पादनका लागि आवश्यक कम्पोष्ट सामग्री उत्पादन गरी देशभरका किसान तथा व्यावसायिक कृषकलाई आपूर्ति गर्दै आएको छ।

वि.सं. २०७६ साल पौष २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको ओ.एन. बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको केन्द्रीय कार्यालय रुपन्देहीको तिलोत्तमा–१६ मा रहेको छ। कम्पनीका उद्योग क्षेत्र तिलोत्तमा–१६, १७ तथा शुद्धोधन–१ मा रहेका छन्।

ओ.एन. बायोटेकमा कृषि विज्ञ, च्याउविज्ञ, अनुभवी व्यवसायी, युवा उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा विभिन्न पेशामा संलग्न प्रतिष्ठित व्यक्तिहरूको संलग्नता रहेको छ। कम्पनीले आईपीओमार्फत पूँजी विस्तार गरी कृषि तथा च्याउ व्यवसायलाई अझ व्यवस्थित र विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।