काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने धारणा राखेका छन । आज स्याङ्जामा आयोजित वालिङ महोत्सवको उदघाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेण्डालाई प्राथमिकता दिन र सबैको साझा एजेण्डा बनाउन आग्रह गरेका हुन ।
उनले भने– राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको पहिलो आवश्यकता हो । देशमा यतिखेर संसदको निर्वाचनको तयारी भइरहेको छ । सबै दलको साझा एजेण्डा आर्थिक विकास बनोस् । म सबै दललाई यही आग्रह गर्न चाहन्छु ।
साथै अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरुले आआफ्ना चुनावी घोषणापत्र लेख्ने तयारी गरिरहेकाले ती घोषणापत्रमा मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सार्दै आएका एजेण्डाहरुलाई समावेश गर्न पनि आग्रह गरे ।
उनले औद्योगिक विकासका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्न र देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्न निजी क्षेत्रले विगत लामो समयदेखि प्रयास गरिरहेको र यस्तै एजेण्डाहरु राज्यसामु राख्दै आएकाले आगामी निर्वाचनमा पनि ती एजेण्डाले प्राथमिकता पाउनुपर्ने उनको तर्क थियो ।
उनले जुनसुकै सरकार आएपनि अर्थतन्त्र सबैको साझा एजेण्डा बन्नुपर्ने अडान विगतदेखि नै निजी क्षेत्रले राख्दै आएको, यसका लागि सबै दलहरुलाई एकै मञ्चमा राखेर यस विषयमा महासंघले नै बहस चलाउँदै आएको र आर्थिक विकासका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनको माग गरेको प्रसंग उल्लेख गर्दै अहिले सो आयोगका सुझावहरु पनि कतिपय कार्यान्वयनमा आएका स्मरण गरे ।
अध्यक्ष ढकालले देशमा आर्थिक लगानीको वातावरणका लागि अवरोध बनेका कतिपय परम्परागत कानुनहरुको संशोधनदेखि महासंघको विधानलाई समय सापेक्ष बनाउने सम्मका काम आफू महासंघको नेतृत्वमा अएपछि सम्पन्न भएका पनि स्मरण गरे ।
आर्थिकन्यूज