शीर्षकहरू

चुनावका लागि थप १० हजार मेट्रिक टन ग्यास ल्याउँदै आयल निगम, अभाव हुँदैन

चुनावका लागि थप १० हजार मेट्रिक टन ग्यास ल्याउँदै आयल निगम, अभाव हुँदैन

काठमाडौं । पछिल्लो समय ग्यासको अभाव भइरहेको भन्ने विषय केवल हल्ला मात्र भएको सरकारवालाहरुले बताएका छन् । चुनावको मुखमा ग्यासको अभाव रहेको भन्दै केही स्वार्थी समूह सक्रिय भएको सरकारवालाहरुको भनाई छ ।

चुनाव नचाहने पक्ष र हालको सरकारलाई असफल बनाउने पक्षले ग्यासको अभाव भएको दाबी गर्न थालेको जनाइएको छ । तर, सरकारले भने चुनावलाई लक्षित गरेर साविकको भन्दा धेरै ग्यास ल्याउनका लागि भारतसँग सहमति पनि गरीसकेको छ ।

नेपाल आयल निगमको एलपी ग्यास शाखाका प्रमुख विनित मणी उपाध्ययका अनुसार नेपालमा मासिक रुपमा औसतमा ४५ हजार मेट्रिक टन ग्यास खपत हुन्छ । भारतसँग आयल निगमले सोही अनुसार पूर्व सहमति गर्दछ । नेपाललाई महिनामा कति ग्यास चाहिन्छ सोही अनुसार हरेक महिना निगमले भारतलाई जानकारी गराउँछ । आयल निगमले माग गरेअनुसार भारतले नेपाललाई ग्यास दिन्छ । 

नेपालमा मासिक औषत ४५ मेट्रिक टन खपत हुने भएकाले सोही अनुसार निगमले भारतलाई पत्र पठाउँछ । त्यसमा चिसोको समयमा अलि बढी र गर्मीको समयमा केही कम खपत हुने निगमका निर्देशक समेत रहेका उपाध्ययले जानकारी दिए । सोही अनुसार गर्मी महिनामा उक्त औसतभन्दा केही कम र जाडो महिनामा सो भन्दा केही बढी परिणाम ग्यास भारतबाट आयात हुँदै आएको उनको भनाई छ । 

तर, चुनावलाई लक्षित गरेर निगमले यस पटक भने अझै धेरै ग्यास आयात गर्ने जनाएको छ । यसका लागि भारतसँग सहमति पनि भइसकेको छ । भारतले चाहे अनुसार ग्यास नेपाल पठाउने पनि सम्झौता गरिसकेको छ । 

चुनावलाई लक्षित गरेर निगमले थप १० मेट्रिक टन अर्थात् मासिक ५५ देखि ६० मेट्रिक टन ग्यास आयात गर्ने उनको भनाई छ । उनले भने, 'चुनावका लागि भनेर हामीले भारतसँग मासिक रुपमा थप १० मेट्रिक टन ग्यास ल्याउने सहमति गरेका छौँ । सयअनुसार मासिक औसतमा ४५ मेट्रिक टन आयात हुँदै आएकोमा अब ५५ देखि ६० मेट्रिक टन ग्यास नेपाल आउँदैछ ।’

यसले गर्दा चुनावको समयमा ग्यास पर्याप्त उपलब्ध हुने उनको दाबी छ । 

ग्यास अभावको चर्चा केवल हल्ला मात्र

केही दिनयता ग्यासको अभाव छ भन्ने हल्ला केवल हल्ला मात्र भएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बताए । खासगरी नेपालले भारतका विभिन्न ५ वटा रिफाइनीबाट ग्यास ल्याउने गर्दछ । 

त्यसमध्ये गत साता भारतको २ वटा रिफाइनीमा प्राविधिक समस्या आयो । त्यसले गर्दा सो २ रिफाइनीबाट ग्यास आयात भएन । सो रिफाइनीमा पुगेका ग्यासका बुलेटहरु फेरि अन्य ३ रिफाइनीमा गएर ग्यास भरेर ल्याए । यसले गर्दा दैनिक रुपमा जति ग्यास आयात हुन्थ्यौँ सोही अनुसार आयात भएन । 

नेपालमा दैनिक ४० बुलेट आयात हुँदा सो समयमा २५ बुलेट मात्र आयात भयो । करिब एक हप्तासम्म त्यो समस्या रहेको अध्यक्ष चन्दको भनाई छ । 

हाल ति रिफाइनीहरुको समस्या समाधान भइसकेको र गत साता आयात गर्न बाँकी रहेको ग्यास पनि अहिले आयात भइरहेको उनको भनाई छ । 

आर्थिक न्यूज सँग कुरा गर्दै उनले भने, '८ दिन जति समस्या आएको थियो । त्यस समयमा जति कम आयात भएको थियो । त्यसलाई पूर्ति गर्ने गरी अहिले आयात भइरहेकाले ग्यास अभाव हुने कुनै सम्भावना छैन ।’

यता, निगमका निर्देशक उपाध्यायका अनुसार ति रिफाइनीहरुको समस्या समाधान भएपछि दैनिक १०० देखि १५० बुलेट ग्यास नेपालमा भित्री रहेका छन् । 'हिजो पनि १२० बुलेट आएका थिए, आज १५० बुलेट आउँदै छन्,’ उनले भने, 'यसले गर्दा अभाव हुने त सम्भावना नै छैन ।’