काठमाडौँ । नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा निरन्तर कमजोर बन्दै गएको छ । राष्ट्र बैंकले आज (शुक्रबार) का लागि निर्धारण गरेको विदेशी मुद्राहरूको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा छ। यो हालसम्मकै उच्च हो ।
पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । हिजो अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा थियो। गएको सोमबार अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा पुगेर केही घटेको थियो।
विनिमय बजारमा डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेसँगै आयात महँगिने, वैदेशिक ऋणको भार बढ्ने र विदेशमा अध्ययन तथा उपचारका खर्चमा चाप पर्ने देखिएको छ । अर्कोतर्फ, रेमिट्यान्स आप्रवाहमा भने केही सकारात्मक प्रभाव देखिन थालेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ। हिजो पनि यी सबै मुद्रा महँगिएका थिए।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४० रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २२ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५० पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९९ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
डलर महँगिँदा के फाइदा, कस्तो नोक्सानी?
डलर बलियो बन्दा नेपालको अर्थतन्त्रमा केही सकारात्मक असर देखिए पनि यसको नकारात्मक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छन्। वर्तमान अवस्थामा डलर महँगिँदा सबैभन्दा बढी लाभ रेमिट्यान्स आप्रवाहमा देखिएको छ। डलरको मूल्य बढ्दा वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रकमको मूल्य बढ्ने भएकाले रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा वृद्धि हुन्छ। साथै, विदेशबाट पैसा पठाउनेको संख्या पनि बढ्ने प्रवृत्ति देखिन्छ।
डलर बलियो भएका बेला विदेशमा रहेका नेपालीले तुलनात्मक रूपमा बढी रेमिट्यान्स पठाउने भएकाले पछिल्ला महिनाहरूमा रेमिट्यान्समा निरन्तर वृद्धि भएको छ। यसले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा समेत सकारात्मक प्रभाव पार्छ। रेमिट्यान्स र एफडीआईमा आएको सुधारले देशको भुक्तानी सन्तुलनलाई बचतमा राख्न मद्दत पुर्याएको छ।
डलर बलियो हुनुबाट नेपालले पर्यटन र निर्यातमार्फत थप लाभ लिन सक्ने सम्भावना भए पनि अपेक्षित परिणाम हासिल हुन सकेको छैन। पर्यटक आगमन बिस्तारै बढ्दै गए पनि अझै पर्याप्त स्तरमा पुग्न सकेको छैन। निर्यातमा देखिएको वृद्धि पनि आन्तरिक उत्पादन बढेकाले नभई भारतबाट कच्चा तेल आयात गरी नेपालमै प्रशोधन गरेर भारत नै निर्यात गर्ने प्रवृत्तिका कारण भएको हो। यसले निर्यात आँकडा बढाए पनि त्यसको वास्तविक लाभ नेपालले पर्याप्त रूपमा पाउन सकेको छैन।
अर्कोतर्फ, डलरको मूल्य बढ्दा सबैभन्दा बढी नोक्सानी आयात भुक्तानीमा पर्छ। आयात बढ्दो क्रममा रहेकाले त्यसबापत तिर्नुपर्ने रकम झनै महँगो हुँदै गएको छ। नेपाली रुपैयाँ कमजोर हुँदा वैदेशिक ऋणको साँवा–ब्याज भुक्तानी दायित्व पनि बढ्छ। साथै, विदेशमा उपचार, अध्ययन, भ्रमणलगायत प्रयोजनका लागि जाने नेपालीका लागि खर्च थप महँगो पर्न जान्छ।
यसकारण, डलर बलियो हुँदा केही क्षेत्रमा फाइदा भए पनि समग्र अर्थतन्त्रमा यसको प्रभाव सन्तुलित बनाउन दीर्घकालीन उत्पादन, निर्यात र पर्यटन प्रवर्द्धनमा जोड दिनु आवश्यक देखिन्छ।
आर्थिकन्यूज