शीर्षकहरू

बढ्दो खराब कर्जाले बैंकिङ क्षेत्र दबाबमा, औसत ५.०८ प्रतिशत पुग्यो

१२ बैंकको एनपीएल बढ्यो, ४ वटाको ७ प्रतिशत बढी (सूचीसहित)

बढ्दो खराब कर्जाले बैंकिङ क्षेत्र दबाबमा, औसत ५.०८ प्रतिशत पुग्यो

काठमाडौं । कोरोना महामारीका बेला अपनाइएको अत्यन्त उदार मौद्रिक नीति र पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण नेपाली बैंकिङ क्षेत्रमा खराब कर्जा निरन्तर बढ्दै गएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) सम्म आइपुग्दा वाणिज्य बैंकहरूको औसत खराब कर्जा ५.०८ प्रतिशत पुगेको छ।

वाणिज्य बैंकहरुको एनपीएल (नोन प्रोफोमिङ लोन) ०.५९ प्रतिशत बिन्दुले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा ४.४९ प्रतिशत थियो।

महामारीपछि प्रवाह भएका धेरै कर्जा घरजग्गा र शेयर क्षेत्रमा केन्द्रित हुँदा ती क्षेत्र मन्दीमा पुगेका छन्, जसले कर्जा असूलीलाई कमजोर बनाएको छ। जसले गर्दा बैंकहरुको खराब कर्जा निरन्तर उकालो लागिरहेको देखिन्छ। 

२० वाणिज्य बैंकमध्ये ८ वटा बैंकले खराब कर्जा घटाएका छन् भने १२ वटा बैंकको खराब कर्जा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको प्रोभिजनिङ ३३ करोड रुपैयाँले थपिएको छ। चालु वर्षको पुस महिनासम्म प्रोभिजनिङ  रकम बढेर २५ अर्ब २२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरूले २४ अर्ब ६७ करोड रुपैयाँ कर्जा नोक्सानी गरेका थिए ।

खराब कर्जा निरन्तर बढ्दै गएमा बैंकहरूको पूँजी पर्याप्ततामा दबाब पर्नुका साथै नाफा घट्ने र कर्जा प्रवाह क्षमता थप संकुचित हुने जोखिम छ। दीर्घकालमा यसले लगानी वातावरण कमजोर बनाउने, आर्थिक गतिविधि सुस्त पार्ने र जनविश्वास घटाउने सम्भावना बढाउने विश्लेषकहरूको भनाइ छ।

अधिकांश बैंकहरूको खराब कर्जा बढ्दो क्रममा रहेको देखिँदा बैंकिङ क्षेत्रको वित्तीय स्वास्थ्य र कर्जा प्रवाह क्षमतामा दबाब बढ्दै गएको संकेत देखिएको छ। कर्जा असूली बैंकहरूका लागि ठूलो चुनौती बनेको छ भने असूलीका क्रममा कर्मचारीमाथि दुव्र्यवहारका घटनासमेत देखिन थालेका छन्, जसले वित्तीय संस्थाप्रतिको विश्वास र समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने जोखिम बढाएको छ।

अस्वस्थ प्रतिस्पर्धा, कर्जा प्रवाहपछिको कमजोर निगरानी, कर्जाको दुरुपयोग, लामो अदालती प्रक्रिया र जोखीम व्यवस्थापनको कमजोरी पनि खराब कर्जा वृद्धिका प्रमुख कारणका रूपमा देखिएका छन्। बाह्य कारणतर्फ विश्व अर्थतन्त्रको सुस्तता, डलरको मूल्यवृद्धि, सुनको मूल्य उचाइ र अन्तर्राष्ट्रिय आर्थिक अनिश्चितताले पनि नेपाली बैंकिङ प्रणालीमा थप दबाब सिर्जना गरेको छ।

न्यून ब्याजदरको अवस्थामा पनि कर्जा प्रवाह सुस्त रहनु लगानीकर्ताको आत्मबल कमजोर भएको संकेत मानिन्छ। अघिल्ला वर्षहरूमा घरजग्गा र निर्माण क्षेत्रमा अत्यधिक लगानी हुँदा अहिले ती क्षेत्र मन्दीमा परेका छन्, जसका कारण ऋणीहरूले कर्जाको साँवा–ब्याज तिर्न कठिनाइ भोगिरहेका छन्। यससँगै ‘ऋण तिर्नु पर्दैन’ भन्ने गलत हल्ला र ऋण मिनाहा हुने अपेक्षाले पनि खराब कर्जा बढाउन योगदान पुर्‍याएको देखिन्छ।

विशेषज्ञहरूका अनुसार खराब कर्जा नियन्त्रणका लागि संरचनागत सुधार, कर्जा प्रवाह र असूली प्रक्रियालाई प्रभावकारी बनाउने, कडा निगरानी, पारदर्शिता तथा कानूनी सुधार अपरिहार्य छन्। समयमै सुधारका कदम नचालिए बैंकिङ प्रणाली र समग्र अर्थतन्त्र दुवैमा गम्भीर असर पर्न सक्ने चेतावनी दिइएको छ।

बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार २०८२ पौष मसान्तसम्म औषत एनपीएल ५.०८ प्रतिशत रहेको छ । २०८१ पौष मसान्तसम्म ४.४९ प्रतिशत थियो । यस अवधिमा १२ वटा बैंकको एनपीएल बढ्दा ८ वटाले भने सामान्य रुपमा घटाएका छन् । 

कुन बैंकको एनपीएल कति बढ्यो ? 

एनपीएल बढ्नेमा अग्रस्थानमा हिमालयन बैंक रहेको छ । हिमालयनको २.९८ प्रतिशत बिन्दुले एनपीएल बढेको छ । गत वर्ष ४.९८ प्रतिशत रहेको बैंकको एनपीएल हाल ७.९६ प्रतिशत रहेको छ । यसैगरी, प्रभु बैंकको २.८८, एनआईसी एशिया बैंकको २.८६, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २.०४, सिटिजन्स बैंक इन्टरनेशनलको २.०१ र प्राइम कमर्सियल बैंकको एनपीएल १.४२ प्रतिशत बिन्दुले बढेको हो ।

यसैगरी, एनएमबी बैंक, सानिमा बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टार्ड बैंक, ग्लोबल आइएमई बैंक र एभरेष्ट बैंकको पनि एनपीएल बढेको छ । 

यस अवघिमा ४ बैंकको एनपीएल ७ प्रतिशत भन्दा धेरै छ । हिमालयनको ७.९८, प्रभुको ७.९४, एनआईसी एशियाको ७.४७ र नेपाल इन्भेस्टमेन्ट मेगाको ७.९० प्रतिशत एनपीएल रहेको छ । 

यसैगरी, ७ बैंकको ६ प्रतिशत भन्दा धेरै एनपीएल रहेको छ भने ९ बैंकको एनपीएल ५ प्रतिशत भन्दा धेरै छ । 

कुन बैंकको एनपीएल कति घट्यो ? 

तुलनात्मक रुपमा ८ बैंकको एनपीएल घटेको छ । जसमध्ये सबैभन्दा धेरै सिद्धार्थ बैंकको एनपीएल घटेको छ । सिद्धार्थको १.०५ प्रतिशत बिन्दुले घट्दा नेपाल एसबीआईको ०.९१, नबिल बैंकको ०.६८, राष्ट्रिय वाणिज्य बैंकको ०.६०, माछापुच्छ्रे बैंकको ०.२९, कृषि विकास बैंकको ०.२५, लक्ष्मी सनराइज बैंकको ०.१७ र कुमारी बैंकको एनपीएल ०.०४ प्रतिशत बिन्दुले घटेको हो । 

पौष मसान्तमा सबैभन्दा कम एनपीएल एभरेष्ट बैंकको रहेको छ । जसको एनपीएल ०.६८ प्रतिशत छ । त्यसैगरी, स्ट्याण्डर्ड चाटार्डको १.८८ र नेपाल एसबीआईको २.६४ प्रतिशत रहेको छ । 

५ प्रतिशत भन्दा कम एनपीएल हुनेमा ११ बैंक रहेका छन् । ५ बैंकको ४ प्रतिशत भन्दा कम एनपीएल छ । 

null