शीर्षकहरू

बैंकहरुको खुद ब्याज आम्दानीमा सुधार, तर नाफामा नउठेको ब्याजको निर्भरता बढ्दो

वाणिज्य बैंकहरुको आम्दानी उकालो लागे पनि खराब कर्जा र नाफाको गुणस्तरमा चिन्ता

बैंकहरुको खुद ब्याज आम्दानीमा सुधार, तर नाफामा नउठेको ब्याजको निर्भरता बढ्दो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्म आइपुग्दा नेपालका वाणिज्य बैंकहरुको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा सामान्य सुधार देखिएको छ । तर, बैंकहरूको खुद नाफामा ठूलो हिस्सा पाकेको तर नउठेको ब्याजबाट आएको देखिँदा बैंकिङ क्षेत्रको वास्तविक वित्तीय स्वास्थ्यप्रति चिन्ता कायमै रहेको छ।

दोस्रो त्रैमाससम्म सार्वजनिक भएका अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले पुस मसान्तसम्म कुल ९६ अर्ब ५ करोड १७ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७२ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा बैंकहरुको कुल खुद ब्याज आम्दानी ९२ अर्ब ६० करोड ७३ लाख ६९ हजार रुपैयाँ रहेको थियो। कुल २० बैंकमध्ये १४ वटा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने ६ वटा बैंकको आम्दानी घटेको देखिन्छ।

खुद ब्याज आम्दानीको आधारमा नबिल बैंकले आफ्नो अग्रता कायम राखेको छ। बैंकले पुस मसान्तसम्म ८ अर्ब ८ करोड ७२ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.४२ प्रतिशतले वृद्धि भएको हो। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ८ अर्ब २ करोड २३ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा यस बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशतले घटेको छ। तेस्रो स्थानमा रहेको कुमारी बैंकले ६ अर्ब ७८ करोड ३५ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्दै २७.६५ प्रतिशतको उल्लेख्य वृद्धिदर दर्ता गरेको छ।

प्रतिशतका आधारमा सबैभन्दा धेरै सुधार गर्ने बैंकमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक देखिएको छ। गत वर्ष ४ अर्ब ४० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले चालु आवको दोस्रो त्रैमासमा ३८.४९ प्रतिशतको वृद्धि गर्दै ६ अर्ब १० करोड ३३ लाख ६५ हजार रुपैयाँ पु¥याएको छ। कुमारी बैंकसँगै सानिमा बैंक, कृषि विकास बैंक, एनएमबि बैंक र नेपाल एसबीआई बैंकले पनि औसतभन्दा माथिल्लो स्तरको वृद्धिदर हासिल गरेका छन्।

यस अवधिमा केही बैंकहरुको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ। सबैभन्दा धेरै गिरावट एनआईसी एसिया बैंकमा देखिएको छ। बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशतले घटेर ४ अर्ब ३६ करोड ३८ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड रुपैयाँमा झरेको छ । हिमालयन बैंकको खुद ब्याज आम्दानी १०.१९ प्रतिशतले घटेर ४ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद ब्याज आम्दानी ९.१३ प्रतिशतले घटेर १ अर्ब ९७ करोड रुपैयाँमा झरेको छ। नेपाल बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड रुपैयाँमा सीमित हुँदा ग्लोबल आइएमई बैंकको आम्दानी पनि ३.३३ प्रतिशतले घटेको छ।

केही बैंकहरूले भने स्थिर सुधार देखाएका छन्। लक्ष्मी सनराइज बैंक, प्रभु बैंक र सिटिजन्स बैंकले १ देखि ३ प्रतिशतको बीचमा वृद्धिदर कायम गरेका छन् भने एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक र माछापुच्छ्रे बैंकले ४ देखि ६ प्रतिशतको हाराहारीमा खुद ब्याज आम्दानी बढाएका छन्। यस अवधिमा सबैभन्दा कम खुद ब्याज आम्दानी स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ।

नाफामा नउठेको ब्याजको निर्भरता बढ्दो, खराब कर्जा र नाफाको गुणस्तरमा चिन्ता

खुद ब्याज आम्दानीमा सुधार देखिए पनि बैंकहरूको नाफा संरचना भने कमजोर देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले कुल ३० अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

तर, यसमध्ये ८ अर्ब ५२ करोड रुपैयाँ, अर्थात् करिब २८ प्रतिशत, पाकेको तर नउठेको ब्याजबाट आएको हो। नेपाल वित्तीय प्रतिवेदन मानकअनुसार बैंकहरूले पाकेको तर नउठेको ब्याजलाई आम्दानीमा समावेश गर्न पाउने व्यवस्था भए पनि नियामकीय समायोजनमार्फत पछि घटाउने अभ्यास रहेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरूको खुद नाफा २७ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो, जसमा १ अर्ब ४४ करोड रुपैयाँ उठेको बक्यौता ब्याजको योगदान थियो। चालु आवमा भने अधिकांश बैंकहरुको नाफामा नउठेको ब्याजको हिस्सा बढेको देखिन्छ।

चालु आव पुससम्म एनआईसी एसिया बैंकको उठ्न बाँकी ब्याज सबैभन्दा धेरै १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको उठ्न बाँकी ब्याज पनि १ अर्ब रुपैयाँभन्दा माथि रहेको छ। चालु आवको दोस्रो त्रैमासमा सबै वाणिज्य बैंकहरूको केही न केही उठ्न बाँकी ब्याज रहेको देखिन्छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा केही बैंकहरूले यस्तो बक्यौता ब्याज उठाइसकेका थिए।

कोरोना महामारीपछिको आर्थिक मन्दी र त्यसपछि देखिएको जेन–जी आन्दोलनलगायत कारणले बैंकहरूको कर्जाको साँवा–ब्याज असुली अझै सहज हुन सकेको छैन। यसको प्रत्यक्ष असर बैंकिङ प्रणालीको खराब कर्जामा देखिएको छ। पुस मसान्तसम्म वाणिज्य बैंकहरूको औसत खराब कर्जा ५.०८ प्रतिशत पुगेको छ। खराब कर्जा नियन्त्रण गर्न बैंकहरूले धितो सकार गर्ने क्रम बढाउँदा गैरबैंकिङ सम्पत्ति पनि बढ्दै गएको छ। घरजग्गा कारोबारमा देखिएको सुस्तताले यस अवस्थालाई थप जटिल बनाएको बैंकिङ क्षेत्रका जानकारहरुको भनाइ छ।

समग्रमा, खुद ब्याज आम्दानीमा देखिएको सामान्य सुधारले बैंकिङ क्षेत्र केही स्थिरतर्फ उन्मुख भएको संकेत गरे पनि नाफाको ठूलो हिस्सा नउठेको ब्याजमा निर्भर हुनु, खराब कर्जा ५ प्रतिशत नाघ्नु र गैरबैंकिङ सम्पत्ति बढ्नु नेपाली बैंकिङ क्षेत्रका लागि दीर्घकालीन चुनौतीका रूपमा देखिएको छ।

null